काठमाडौं। चर्चित टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम -टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन सन्चार मन्त्रीसहित १८ जनाविरुद्ध मुद्धा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग गरिएको छ। तत्कालिन सन्चार मन्त्री तथा हाल सांसद रहेका मोहन बस्नेतसहितलाई प्रतिवादी बनाइएको छ। बस्नेत सिन्धुपाल्चोकबाट सांसद निर्वाचित नेपाली कांग्रेसका नेता हुन्।
नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हरिण्यप्रसाद वस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक संदिप अधिकारीलाई प्रतिवादी बनाइएको छ ।
त्यसैगरी परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाइएको छ।
अदालतमा भ्रष्टाचार मुद्धा दायर भएसँगै पूर्व मन्त्री बस्नेत सांसदबाट स्वत निलम्बित भएका छन्।


