काठमाडौं। नेपाली महिला क्रिकेट टोली टी-२० विश्वकपको ग्लोबल क्वालिफायर पुगेको छ।
सिनियर अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल विश्वकपको ग्लोबल क्वालिफायर पुगेको यो पहिलोपटक हो। एसियाली छनोटअन्तर्गत सुपर-३ को आफ्नो पहिलो खेलमा नेपालले सोमबार यूएईलाई ५ विकेटले हरायो।

यूएईले सुपर-३ का दुवै खेल हारेकाले नेपालले थाइल्यान्डसँग खेल्नुअघि नै ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो। पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई एक सय १५ रनको लक्ष्य दिएको थियो। नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ३० रन जोडिन्।
पूर्व कप्तान रुबिना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पुजा महतोले १३ रन जोडे। नेपालले पहिलो विकेटका लागि २८, चौथो विकेटका लागि २४, पाचौँ विकेटका लागि ३७ विकेटका लागि साझेदारी गर्यो।
विश्वस्तरको छनोटमा अब १० टोलीले प्रतिस्पर्धा गर्नेछन् जसबाट ४ टोलीले विश्वकप यात्रा तय गर्नेछन्।


