काठमाडौं। आईसिसी टी-२० महिला विश्वकपको एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ।

घरेलु मैदानमा मंगलबार भएको खेलमा थाइल्यान्डले पहिला ब्याटिङ गर्दै २ विकेट गुमाएर एक सय ५८ रन जोडेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र जोड्यो।
नेपालकी कविता कुँवर सर्वाधिक २४ रन जोडेर रनआउट भइन्। राजमती ऐरीले १९ र रुबिना क्षेत्रीले १२ रन बनाए। सम्झना खड्का ९, रुवि पोदार ४ र इन्दु बर्माले ७ रन बनाए। पुजा महतो, रोमा थापा, इश्वरी विष्ट र रिया शर्माले खाता खोल्न सकेनन्।
थाइल्यान्डकी ओन्निचा कम्पचोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन्। उनले चार ओभरमा केवल ११ रन खर्चिन्। यो खेल अगावै नेपाल र थाइल्यान्ड दुवैले ग्लोबल क्वालिफायरमा स्थान बनाएका थिए।
नेपालले सुपर थ्रिको आफ्नो पहिलो खेलमा यूएईलाई हराएपछि एक खेल अगावै विश्वस्तरको छनोट पुग्ने पक्का भएको थियो।


