काठमाडौं। गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै प्रतिपक्षी दलहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन्। माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा, राप्रपालगायत विपक्षी दलहरुले बैठक सुरु भएलगत्तै उठेर विरोध गरेका थिए।
त्यसपछि माओवादीतर्फबाट वर्षमान पुन अनन्त र रास्वपाका शिशिर खनालले बोल्दै लेखकले राजिनामा दिएपछि संसद बैठक चल्ने अडान राखेका थिए। कांग्रेसका सांसदलाई बोल्न दिएपछि नाराबाजी चर्किएको थियो। त्यसपछि संसद अवरुद्ध भयो।

त्रिभुवन विमानस्थलबाटै अध्यागमन कार्यालयकै सेटिङमै भिजिट भिषामा पठाउने गरेको भन्दै गृहमन्त्री लेखकको राजिनामा मागिएको हो। अख्तियार दुरुपयोग अनसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख तिर्थराज भट्टराईसमेतको संलग्नतामा दैनिक ५० लाख घुस उठाएर भिजिट भिषामा पठाउने गरिएको दावीसहित उनको मोबाइलहरु नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
भट्टराईलाई लेखकलाई नै त्यहाँ पठाएको र अन्य विवादित व्यक्तिलाई पनि मातहतमा राखेर काम गरिरहेको भन्दै गृहमन्त्रीकै भूमिकामा प्रश्न उठाइएको छ।


