काठमाडौं । एक युवा सरकारी डाक्टर सुसाइड नोट लेखेर मोबाइल स्वीट्च अफ गर्छन्।
सुसाइड नोटमा राम्रो गर्छुभन्दा आफुलाई काम गर्न नदिइएको, अपमान गरिएको, सरुवा भएको र अन्याय सहने हद पार भएको उल्लेख गर्दै आमादेखि श्रीमतीसम्म माफी मागिएको हुन्छ। ‘नेपालमा नै केही गरौँ भनेर बसेको अहिले पश्चाताप लागेको छ’, भन्दै स्टाटसको अन्त्यतिर लेखिएको बाक्यांश मर्मस्पर्शी थियो।

एकातर्फ मर्दैछु आशयको स्टाटस छ, अर्कोतर्फ काम गर्ने सिलसिलामा मानसिक यातना पाएको आशय देखिन्छ, एकाएक डाक्टर केशव श्रेष्ठको स्टाटस सामाजिक सन्जालमा भाइरल हुन्छ।
बिहान ९ बजेर ४७ मिनेटमा फेसबुकमा पोस्ट भएको उक्त स्टाटसलाई धेरै सेयर गर्छन्। उनको ज्यान बचाउन अपिल गर्छन्।
यस्ता थुप्रै कारण थिए जसले नेपाल प्रहरीले डाक्टर श्रेष्ठलाई खोज्न सम्पूर्ण शक्ति लगायो। साइबर ब्युरो, काठमाडौं प्रहरी परिसरदेखि काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयसम्मका अनुसन्धान अधिकारीहरु खटिएका थिए। प्रहरी प्राविधिक तरिकाले अनुसन्धान सुरु गर्यो। जसरी पनि सम्भावित घटना हुनुअघि केशवसम्म पुग्न प्रहरीले हरसम्भव प्रयाश गर्यो।
९ बजेर ४७ मिनेटमा स्टाटस लेखेका डाक्टर केशवको केही घण्टासम्म अत्तोपत्तो थिएन। तर दिउँसो झन्डै २ बजे केशव भेटिएको भन्दै खबर बाहिर आउँछ। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा उनी फेला परेका थिए। उनी निकै विक्षिप्त अवस्थामा थिए। बर्बराइरहेका थिए। स्पष्ट केही बोल्न सकिरहेका थिएनन्।
सामाजिक सन्जालमा अलविदा लेखेर मोबाइल स्वीट्च अफ गरेका केशव कसरी श्रीनाथ बुटिक रिसोर्टमा पुगे । प्रहरीले कसरी उनलाई भेट्टायो। हामी यो भिडियोमा चर्चा गर्ने छौँ।
त्यसअघि कुरा गरौँ, उनले लेखेको स्टाटस बारे जुन सुसाइड नोटका रुपमा हेरिएको थियो। मानिसले मर्नेसम्मको निर्णय लिनुअघि त सत्य बोल्छ भन्ने मान्यताका आधारमा केशवले लेखेका कुराले मानिसहरुलाई अधिक भावुक बनाएको थियो।
नेपाल प्रहरी अस्पतालमा केही समय करारमा काम गरेका केशवले झन्डै २५ महिना अघि बागमती प्रदेशबाट नाम निकाल्दै रामेछाप स्वास्थ्य अस्पतालमा पुगेका थिए। पछिल्लो १८ महिना उनी त्यहाँ निमित्त मेडिकल सुपरिटेन्डेन्ट थिए।
अस्पताललाई राम्रो बनाउन काम नगर्ने कर्मचारीमाथी कडा रुपमा प्रस्तुत भएको उल्लेख गरेका छन्। तर रामेछापका पूर्व वडाध्यक्ष केदार कार्कीको नाम किटेर उनले पैसा मागेको, आफुले भनेको मान्छेलाई जागिर लगाउन दबाब दिएको उल्लेख गरेका छन्। कार्कीले भनेको नमान्दा अस्पतालभित्र आफुले कारबाहि गरेका डाक्टरहरुलाई आफुविरुद्ध उनले प्रयोग गरेको केशवको दावी छ। कार्यकक्षमा नबस्ने, पावर देखाएर धम्की दिने, उपचारको नाममा कमिसन लिने गरेको पाइएपछि आफुले ती डाक्टरहरुलाई स्पष्टीकरण सोधेको उनले उल्लेख गरेका छन्।
खासगरी महिला डाक्टरहरुको आरोपपछि केशवमाथी छानबिन भएको र त्यसैका आधारमा उनको सरुवा भएको समाचारहरु पनि बाहिर आएका छन्। केशवका अनुसार कार्की र अन्य डाक्टरहरुले उनलाई जसरी पनि त्यहाँबाट लखेट्ने च्यालेन्ज गरेका थिए।
यसरी सरुवाविरुद्ध आफुले बोल्दा खोज्दा प्रदेश सरकारको स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवले वास्ता नगरेको केशवको दावी छ। सरुवा भएर मन्त्रालयमा पुग्दा पनि आफुलाई त्यहाँबाट अमानवीय व्यवहार भएको दुखेसो केशवको छ। प्रहरीले उनलाई भेटेपछि पनि केशवले बारम्बार आफुमाथी भएको मानसिक यातना दोहोर्याइरहेका थिए।
प्रहरीले केशवलाई खोजिरहँदा प्रहरी कार्यालयहरुमै पुगेर आफन्त र चिकित्सकहरुले दबाब बढाएका थिए।
प्रहरीका अनुसार डाक्टर केशवको मोबाइल चाबहिल क्षेत्रबाट स्वीट्च अफ भएको थियो। चाबहिलमा केशवको ससुराली छ।
केशवकी श्रीमती पनि डाक्टर हुन् जो चाबहिलमै बस्ने गरेको प्रारम्भिक सोधपुछका क्रममा पाइएको नेछ। प्रहरीका अनुसार केशव त्यहाँबाट मोटरसाइकल चढेर निस्किएका थिए।
प्रहरीले केशवलाई खोज्न सिसिटिभी फुटेज हेरेको थियो। त्यहीबीचमा केशव भाइबर र ह्वाट्स एपमा अनलाइन देखिए। केशवलाई चाँडै भेट्टाउन प्रहरीलाई यो ठुलो उपाय थियो। अनलाइन देखिएकै आधारमा प्रहरीलाई केशवसम्म पुग्न सजिलो भएको थियो।
अहिलेका लागि केशवको ज्यान जोगाउन प्रहरी सफल भएको छ। अब केशवलाई आवश्यक काउन्सेलिङको जरुरी छ। त्यसपछि केशवले सामाजिक सन्जालमा लेखेका र गरेका दावीहरुमाथी प्रहरीले छानबिन गर्नुपर्छ। किनभने यतिबेला केशवले लेखेको कुरा सहि थियो भनेर कम्तिमा युवा पुस्ताले विश्वास गरिरहेको छ। केशवले लेखेका विषयहरु सहि हुन् भनेर राज्यले उनिहरुमाथी कारबाही गर्नुपर्छ। कानुनअनुसार के के गर्छ मिल्छ।
यदी केशवले लेखेका कुराहरु झुटा हुन् भनेर आम युवाले बुझ्ने भाषामा राज्यले बुझाउनुपर्छ।


