काठमाडौं। सरकारले नेपाल प्रहरीको ३२ औँ महानिरिक्षक-आईजिपी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले खापुङलाई आईजिपीमा पदोन्नती गर्ने निर्णय गरेको हो। खापुङले आगामी भदौ १९ गते जिम्मेवारी सुरु गर्नेछन्।

कात्तिक २६ गतेसम्म अर्थात झन्डै २ महिना उनी नेपाल प्रहरीको आईजिपी रहनेछन्। खापुङले २०५२ कात्तिक २७ गते प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा सुरु गरेका हुन्।
हालका आईजिपी दीपक थापाले ३० वर्षे सेवा अवधिका कारण आगामी भदौ १९ गतेबाट अवकाश पाउँदैछन्। सरकारले उनलाई गत चैत पहिलो साता आईजिपी नियुक्त गरेको थियो।
खापुङ आफ्नो ब्याचबाट एक्ला दावेदार थिए।
खापुङको नियुक्तीसँगै एउटै विज्ञापनबाट आवेदन दिएका ३ जना आवदेक नेपाल प्रहरीको आईजिपी बनेका छन्। हालका दीपक थापा र यसअघिका बसन्त कुँवरसँगै खापुङले एकै विज्ञापनबाट आवेदन दिएका थिए।
थापा र कुँवरको नाम वैकल्पिक सूचीमा थियो। त्यही आधारमा थापा र कुँवरले अलग अलग मितीमा नियुक्ती पाएका हुन्। ५५ वर्षीय खापुङ हाल केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी प्रमुख छन्।
उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र कोशी प्रदेश प्रमुखका रुपमा पनि जिम्मेवारी सम्हालेका थिए। त्यसअघि डिएसपी र एसपीका रुपमा उनी थुप्रै जिल्लाको इन्चार्ज थिए। नेपाल प्रहरीमा शक्तिशाली मानिने कर्मचारी प्रशासन प्रमुख भएर पनि काम गरेका थिए।


