काठमाडौं। नेपालीहरुलाई भारत पुर्याएर मृगौला झिक्ने गिरोहका नाइकेलाई पक्राउ गरेको प्रहरीले दावी गरेको छ। भारतको नयाँ दिल्लीमा बस्दै आएका श्यामकृष्ण भण्डारीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार भण्डारीले भारतमा बसेर नेपालीको मृगौला विक्री गर्ने काम गर्दै आएका थिए। प्रहरीको दावीअनुसार भण्डारीले हालसम्म २५ जना नेपालीको मृगौला झिकिएको बताएका छन्।

सोझा साझा नेपालीलाई आर्थिक प्रलोभन देखाएर मृगौला झिक्ने गिरोहमध्ये भण्डारी हालसम्म पक्राउ परेका ठुला व्यक्ती भएको प्रहरीको दावी छ। ५ जनाले आफ्नो मृगौला झिकिएको भन्दै भण्डारीविरुद्ध जाहेरी दिएका थिए।
गत महिना सिन्धुलीका खिलबहादुर भुजेलले आफुलाई भारत पुर्याएर मृगौला झिकिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए। त्यसपछि थप ४ जना पिडित प्रहरीमा आएका हुन्। तीमध्ये २ जना ४७ र ४६ वर्षका श्रीमान श्रीमती रहेका छन्।
भुजेलले उजुरी गरेपछि भण्डारिको गिरोहले ९ जना नेपालीलाई मृगौला नझिकिए दिल्लीबाट फर्काएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पक्राउ परेकामध्ये ३ जना आफै मृगौला झिकिएका व्यक्ति हुन्।
उनिहरु आफ्नो मृगौला झिकिएपछि कारोबारमा लागेका थिए। प्रहरीका अनुसार गिरोहले मृगौला झिकेबापत पिडितलाई ६ लाख नेपाली रुपैयाँ दिने गरेका थिए।


