काठमाडौं। सन् २०२४ अक्टोबर २७ तारिख। भरिभराउ दशरथ रंगशाला। भिडिरहेका हुन्छन् उही चिरप्रतिद्धन्द्धी नेपाल र भारत साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा।
नेपालले दशरथ रंगशालामा खेलेका खेलहरुमा रंगशाला दर्शकले नभरिएको इतिहास कमै भेटिन्छ। हरेकपटक रंगशाला भरिभराउ हुन्छ, नेपालको पक्षमा भइरहेको हुटिङले शहर गुन्जिन्छ। अब भारतसँगको खेल थियो त्यो पनि सेमिफाइनल, धेरै दर्शक टिकट नपाएर रंगशालाबाटै फर्किएका थिए।

भारतसँगको भिडन्त केवल खेलमा मात्र सिमित हुँदैन, नेपाल, नेपाली खेलाडी र नेपाली समर्थकका लागि। भौगोलिक र आर्थिक रुपमा आफुभन्दा कैयौँ गुणा ठुलो छिमेकीविरुद्ध जित हात पार्नुको अर्थ पक्कैपनि विशेष हुन्छ। त्यसमा पनि प्राय हरेकपटक उपाधि यात्रामा भारत नै बाधक बन्ने विगतका कारण उसलाई हराउन आँतुर देखिन्छन् नेपाली खेलाडी र समर्थक।
नेपालले हालसम्म अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधि जित्न सकेको छैन। साफ महिला च्याम्पियनसिपमा ५ पटक फाइनल पुगेकामा ४ पटक भारतसँगै पराजित भएको थियो। सन् २०१६ मा भएको संस्करणमा मात्र नेपाल फाइनल पुगेको थिएन तर त्यतिबेला पनि सेमिफाइनलमा भारतले नै हराएको थियो।
दक्षिण एसियाली खेलकुदमा हरेकपटक फाइनल पुगेपनि स्वर्ण पदकका लागि भएका सबै भिडन्तमा भारतसँग नै पराजित भएको थियो। भारतले कहाँ कसरी अवरोध गरिरहेको थियो- उसलाई हराउनु मात्र पनि त्यो ठुलो खुसी हुने अवस्था थियो।
त्यस दिन पनि माहोल त्यस्तै थियो। खेल सुरु नहुँदै नेपाल नेपाल भन्दै खेलाडीको मनोबल उच्च बनाउन समर्थकहरु कस्सिएका थिए। पहिलो हाफ बराबरीमा सकियो। दोस्रो हाफको सुरुवातमै नेपाल १० खेलाडीमा सिमित भयो।
भुटानी रेफ्रीले स्ट्राइकर रेखा पौडेललाई दोहोरो पहेँलो कार्डका कारण ५१ औँ मिनेटमा मैदानबाट बाहिर पठाइन्। अब स्वभाविक थियो- नेपाल दबाबमा पर्ने वाला थियो। र भयो त्यस्तै- ६२ औँ मिनेटमा भारतले अग्रता लियो। अनुभवी मिडफिल्डर संगिता बासफोरले भारतलाई अग्रता दिलाइन्। त्यसपछि के भयो सायदै दक्षिण एसियाली महिला फुटबलले विर्सने छ।
भारतीय खेलाडीले गोलको सेलिब्रेसन गरिरहेका नेपाली खेलाडीहरु बल लिएर मध्य भागमा पुगे। उनिहरुले बल सुरु गर्न खोज्दा रेफ्रीले सिटि फुक्दै जनाउ दिइन्। यता भारतीय खेलाडीहरु गोल सेलिब्रेसनमै ब्यस्त थिए। खाली मैदान र खाली पोस्ट। नेपाली खेलाडीले सहजै गोल गरे। भारतीय खेलाडीहरुले विरोध जनाए। रेफ्रीले त्यस गोललाई मान्यता दिइनन्।
नेपाली खेलाडीले पनि विरोध सुरु गरे। रेफ्रीले आफुले खेल नै सुरु नगरेको दावी गरिन् भने नेपालले रेफ्रीले सिटि फुकेर बल चाल्न अनुमति दिएको दावी गरे। नेपाली खेलाडीहरु आफ्नो गोललाई मान्यता नदिए खेल्न तयार देखिएनन्। बारम्बार खेलाडी, अफिसियल र रेफ्रीबीच कुराकानी भयो। यस्तो करिब एक घण्टाभन्दा लामो समय चल्यो। बल्लबल्ल खेल सुरु भयो, नेपाल तल परेरै तयार भयो। अर्थात त्यस गोललाई मान्यता दिएन।
तर चार मिनेटपछि नै नेपाल खेलमा फर्कियो। सावित्रा भण्डारी साम्बाले गरेको त्यो गोलले पुरा दशरथ रंगशाला उचालियो। उनले करियरकै एक उत्कृष्ट गोल गरिन्। नेपालले शानदार मुभ बनाएको थियो।
१० खेलाडीमा सिमित हुनु त्यसपछि त्यति लामो समय विवाद भएर खेल रोकिनु अनि खेल सुचारु भएको केहि मिनेटमै गोल फर्काउनु- नेपाली खेलाडी र दर्शकको त्यो खुसी सायदै शब्दमा वर्णन गर्न सकिन्छ।
अझ गोल गरेपछि साम्बाले जर्सी फुकालेर गरेको त्यो सेलिब्रेसन आफैमा आइकोनिक थियो। यो खेल निर्धारित समयमा बराबरीमा सकियो र टाइब्रेकरमा पुग्यो। टाइब्रेकरका लागि भनेर नेपालले एन्जिला तुम्बापोको स्थानमा अन्जना रानामगरलाई पठाएको थियो।
अन्जनाले पहिलो प्रहार नै रोकिन् त्यो पनि अनुभवी कप्तान असलता देवीको। नेपालको पहिलो प्रहार गर्न पुगेकी साम्बाले सहजै गोल गरिन्। त्यसपछि भारतले लगातार दुई गोल गर्यो। नेपालका लागि पनि गिता राना र सविता रानामगरले लगातार गोल गरे।
भारत चौथो प्रहारमा चुक्यो। नेपालका लागि चौथो प्रहार गर्ने जिम्मा अमिशा कार्कीले पाएकी थिइन्। त्यसमा गोल गरे नेपाल फाइनल पुग्ने थियो। अमिशा चुकिनन्, नेपाल एउटा प्रहार गर्न बाँकी रहँदै फाइनल पुग्यो। फेरि एकपटक दशरथ रंगशाला उचालियो।
खेलाडीदेखि दर्शकसम्म खुसीको कुनै सिमा देखिएन। नेपालले खेलभर जुन जुन अवस्था पार गरेको थियो त्यो आफैमा वर्णन गरि साध्यै थिएन। अर्कोतर्फ भारतलाई हराउनुको खुसी बेग्लै थियो। भारत त्यतिबेलासम्म साफ च्याम्पियनसिप आयोजना भएका ६ मध्ये ५ संस्करणको विजेता थियो।
यहाँ उल्लेखनीय के छ भने त्यसअघि साफ महिला च्याम्पियनसिपको अघिल्लो संस्करण पनि नेपालमै भएको थियो-सन् २०२२ मा। त्यतिबेला नेपालले अघिल्ला लगातार सबै ५ संस्करणको विजेता भारतलाई सेमिफाइनलबाटै विदा गरेको थियो। त्यस खेलमा पहिलो हाफको इन्जुरी समयमा रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन्। अन्तत त्यही गोलमा नेपाल फाइनल पुगेको थियो।
यहाँ दुखलाग्दो के छ भने लामो समय भारतबाट लगातार निराश बनेको नेपालका लागि पछिल्लो समय तनाव दिने अर्को टोली थपिएको छ बंगलादेश। साफ महिला च्याम्पियनसिपका पछिल्ला दुवै फाइनल नेपालले बंगलादेशसँग खेलेको थियो। दशरथ रंगशालामा भएका ती दुवै फाइनलमा नेपाल निराश हुन पुग्यो।
नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधि जित्न सक्ने प्रतियोगिता हो साफ च्याम्पियनसिप र साग फुटबल तर यी दुवैमा नेपाल अहिलेसम्म विजेता हुन सकेको छैन। यद्यपी लामो समय दबदबा बनाएको भारतमाथी नेपालले एकपछि अर्को बदला लिइरहेको छ- जित मात्र हात पारेर भएपनि।
यहाँ उल्लेखनीय के छ भने भारतले अन्तर्राष्ट्रिय महिला फुटबलमा चार खेलयता नेपाललाई हराउन सकेको छैन। सन् २०२२ यता नेपाल र भारतबीच भएका चारवटा खेलमा दुई खेलमा नेपाल विजयी भएको छ भने दुई खेल बराबरीमा सकिएका छन्।
अन्तिमपटक भारतले नेपाललाई सन् २०१९ मा हराएको थियो, २-० गोलले। त्यस खेलमा दुवै गोल बाला देवीले गरेकी थिइन्। बाला देवी तिनै खेलाडी हुन् जसको खुट्टा साम्बाले गत साफ च्याम्पिनयसिपको सेमिफाइनलमा भारतलाई हराएपछि चुमेकी थिइन्। बाला देवी भारतकी सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। साम्बाले बालादेवीमाथी देखाएको सम्मान थियो त्यो।
अहिले साम्बा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता हुन्। उनी हाल नेपाली टोलीको कप्तान हुन्। यतिबेला नेपाली भारतले आयोजना गरिरहेको एक आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल खेल्न सिलोङ पुगेको छ। त्यहाँ नेपालले भारत र इरानसँग खेल्ने छ। भारतले पहिलो खेल इरानसँग खेलिसकेको छ जुन खेलमा भारतीय टोली २-० गोलले पराजित भयो।
यतिबेला भारतीय टोलीमा बालादेवीसहित अर्की अनुभवी खेलाडी असलता देवी पनि छैनन्। संगिता बासफोर, रतनबाला देवी, ग्रेस दाङमेई, मनिषा कल्यान, प्यारी छाछालगायत अनुभवी खेलाडीहरु भने टोलीमा छन्।
नेपाली टोलीमा पछिल्लो २/३ वर्षयता खासै परिवर्तन छैन। त्यसमा पनि साम्बासँग यतिबेला यतिबेला अस्ट्रेलियाको व्यावशायीक लिग खेलिरहेको अनुभव छ। प्रिति राई पनि जोर्डनमा व्यावयशीक फुटबल खेलिरहेकी छिन्।
रेखा पौडेल, एन्जिला तुम्बापो सुब्बासँग पनि विदेशका लिगहरु खेलेको अनुभव छ। अर्थात नेपाली महिला फुटबल अझ अनुभवी र माझिएको हामी अपेक्षा र अनुमान गर्न सक्छौँ। यो टोलीले आगामी सोमबार सिलोङबाट नेपालीलाई खुसी दिन सक्ने छ। भारतलाई उसकै मैदानमा हराउनुको महत्व नेपाली टोलीले बुझेको छ।

