काठमाडौं। बैंकमा पैसा थुप्रिनु भनेको के हो ? किन थुप्रिन्छ ? जो कोहीले पनि सहजै उत्तर दिन सक्छ : बैंकमा डिपोजिट मात्र भयो तर लगानी भएन। लगानी गर्न लगानीकर्ताले रिण लिनु पर्यो त्यो भयो भने उसले ब्याज प्राप्त गर्छ र अर्थतन्त्र पनि चलायमान हुन्छ।
अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले व्यवशायी तथा लगानीकर्ताले किन रिण लिन खोजिरहेका छैनन् भनेर वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत-सीईओदेखि राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु सम्मलाई बोलाएर जवाफ खोजिरहेका छन्। दुई दिन अघि उनले सबै बाणिज्य बैंकका सीईओहरुलाई बोलाएर भने : ‘बैंकहरूले कर्जा विस्तारमा के समस्या भइरहेको छ? सरकारले केही गर्नुपर्ने अवस्था छ भने भन्नुहोस्। हामी सहजीकरण गर्छौँ।’

छलफलमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले लगानीको वातावरण नभएको भन्ने बाहिरी हल्लामा सत्यता नरहेको प्रस्ट पारे। उनिहरुले बैंकिङ क्षेत्रलाई अहिले केही पुराना नियामकिय उपचारहरूले स्वाभाविक रूपमा अप्ठ्यारो परिस्थितिमा पुर्याएको तर त्यो समाधान गर्न सकिने खालको रहेको बताए । बुधबार पनि अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई बोलाएर समस्या के हो भन्दै जिज्ञासा राखेका थिए। उनले कर्जा प्रवाहलाई कसरी विस्तार र सहज बनाउन सकिन्छ भनेर जिज्ञासा राखेका थिए। पछिल्लो समय प्रधानमन्त्री बालेनले समेत निजि क्षेत्रसँग लगातार छलफल गरिरहेका थिए।
झन्डै दुई तिहाईको बालेन सरकार बनेपछि अर्थतन्त्रले गति लिने अनुमान गरिएपनि त्यसको ठिक विपरित भइरहेको छ। पुँजीबजार नाजुक अवस्थामा पुगेको छ भने बैंकहरुबाट कर्जा प्रवाह हुन सकिरहेको छैन। बालेन सरकार आएपछि ठुला व्यवशायीहरुलाई अनुसन्धानमा तानिएको थियो।




