काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सत्ता सम्हालेको झन्डै साढे ४ महिनापछि पहिलोपटक दुई प्रमुख छिमेकीका कुटनीतिक अधिकारीसँग वन टु वन भेटघाट गर्ने भएका छन्।
सोमबार बालेनले नेपालका लागि भारत र चीनका राजदुतसँग एकपछि अर्को भेट गर्दैछन्। उनले सुरुमा भारतीय राजदूत नविन श्रीवास्तवसँग र त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने तयारी रहेको छ।

यसअघि सत्ता सम्हालेको केही दिनपछि बालेनले सबै कुटनीतिक प्रतिनिधिसँग सामूहिक भेट गरेका थिए। त्यसयता विभागीय मन्त्रीहरुले वन टु वन भेटघाट गरेपनि बालेनले वास्ता गरेका थिएनन्। यसबीचमा बालेनले औपचारिक विदेश भ्रमण पनि गरेका छैनन्। नेपालका प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेपछि भारत र चीनको औपचारिक भ्रमण गर्ने चलन रहेको छ।
त्यसका लागि उनिहरुले बोलाउने गर्छन्। तर बालेन तयार नभएपछि त्यस्तो निमन्त्रणा आएको थिएन। यसबीचमा केही समय अघि भारतीय पक्षले बालेनलाई निमन्त्रणा पठाइएको बताएपनि नेपाल सरकारले स्पष्ट पारेको छैन।
आन्तरिक राजनीतिमा समेत अप्ठेरो अवस्थामा पुग्दै गरेका बालेनले प्रमुख कुटनीतिक प्रतिनिधिसँग गर्न लागेको वन टु वन भेटघाटलाई चासोपूर्वक हेरिएको छ। यसअघि यसरी हुने भेटघाटलाई नेपालको राजनीतिमा बाह्यक हस्तक्षेपका रुपमा न्यारेटिभ बनाइने गरेको थियो। बालेनले गरेको सामूहिक भेटघाट सबै कुटनीतिक प्रतिनिधि नेपालका लागि समान रहेको र कसैलाई पनि स्पेसल प्रिभिलेज नरहेको सन्देश दिन खोजेको भनेर टिप्पणी भएको थियो।




