काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो राजिनामा माग्नेलाई तह लगाउने चेतावनी दिएका छन्।
शनिबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै केही आवाराहरु क्यान्टिनमा बसेर आफुलाई हटाउन लागेको अभिव्यक्ती ओलीले दिएका थिए।

उनले भनेका थिए , ‘ अहिले अलिकति अनुशासनहीनता देखापरेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला राखेका छन् । अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँड्या छ। पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के के छ, त्यही गरे हुन्छ । चुप लागेर घरमा बस्ने भए बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो अनुशासन चाहिन्छ । कुनै संस्थामा काम गर्दा त्यो संस्थाको नीति, नियम, विधि, अनुशासन पालना गर्नुपर्छ। यो कुरा कार्यान्वयन गरेर गइन्छ।’
आइतबार एमाले नेता झपट रावलले कार्यकर्ताहरु आवारा भए तपाई चाहीँ के भन्दै प्रश्न गरेका छन्। उनले सामाजिक सन्जालमा लेखेका छन् , ‘ पार्टी क्यान्टिनमा चियाको चुस्कीसँगै वैचारिक मन्थन गर्ने निष्ठावान् कार्यकर्ताहरूलाई ‘आवारा’को उपमा दिइरहँदा इतिहासले प्रश्न गरिरहेको छ— हिजोका सङ्घर्षपूर्ण दिनहरूमा तिनै कार्यकर्ताहरूसँगै बसेर राजनीति र क्रान्तिका पाठ सिकाउने कमरेड स्वयं के हुनुहुन्थ्यो? यदि विचार र नीतिको बहस गर्ने कार्यकर्ता आवारा हुन् भने, तिनलाई नेतृत्व दिने संस्था र चौतारीलाई चाहिँ के भन्ने?’




