काठमाडौं। भारतबाट पक्राउ गरि ल्याइएका दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालतले १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ।
काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार प्रसाईलाई जिल्ला अदालत उपस्थित गराएको थियो। प्रसाईविरुद्ध आपराधिक उपद्रव, संगठित अपराधलगायत कसुरमा म्याद लिएर अनुसन्धान सुरु भएको हो।

प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा बिहीबार भारतको आसामबाट नियन्त्रणमा लिइएको थियो। शुक्रबार बिहान झापा ल्याइपुर्याइएका उनलाई भद्रपुरबाट विमानमार्फत काठमाडौं ल्याइएको थियो।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंस्रक र अराजक बनेपछि त्यसका आयोजक प्रसाई भागेका थिए। उनी भागेको करिब दुई सातापछि पक्राउ परेका हुन्।
यसबीचमा उनले दुईपटक सामाजिक सन्जालमा भिडियो राखेर आफु नेपालमै रहेको दावी गरेका थिए। तर प्रहरीले ती दुवै भिडियो प्रसाईले भारतमा खिचेको दावी गरेको छ। प्रहरीले तीनकुने घटनामा राप्रपा नेता रविन्द्र मिश्र, राप्रपा सांसद धवल शमशेर जबरालगायतलाई पक्राउ गरिसकेको छ।
तीनकुनेमा भएको राजावादी प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने आगजनी,तोडफोड र लुटपाटका घटना पनि भएका थिए।


