काठमाडौं। वर्षा वाधक बनेपछि आगामी वर्ष आयोजना हुने आईसिसी यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ।
घरेलु मैदानमा भइरहेको एसियाली छनोटको आफ्नो अन्तिम खेलमा खेल रद्ध भएर अफगानिस्तानसँग अंक बाँढेपछि नेपाल अगाडि बढ्न सकेन। अफगानिस्तानसँग समान अंक भएपनि नेपाल नेटरनरेटका आधारमा दोस्रो स्थानमा रहेर विश्वकप पुग्न नसकेको हो।

५ टोली सहभागी रहेको एसियाली छनोटबाट एक टोली मात्र विश्वकप पुग्ने प्रावधान थियो। अफगानिस्तान र नेपाल दुवैले जारी छनोटका आफ्ना अघिल्ला सबै तीन खेल जितेका थिए।
नेपालले हालसम्म ८ पटक आईससिसी यू-१९ विश्वकप खेलेको छ। शनिबार मुलपानी क्रिकेट मैदानमा हुने भनिएको नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो २ बजे रद्ध भएको घोषणा गरिएको थियो।
बढीमा साढे २ बजेसम्म सुरु हुनुपर्ने खेलका लागि मैदान तयार नभएपछि अम्पायरले उक्त निर्णय सुनाएका थिए। बिहान ९ बजेदेखि सुरु हुनुपर्ने खेल करिब ५ घण्टा कुर्दा पनि सुरु हुन सकेको थिएन।


