काठमाडौं। उच्च अदालत सुर्खेतले पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा भएको जाजरकोटका नवराज विकसहित ६ जना दलित युवाको सामूहिक हत्यामा २३ जनालाई जन्मकैद हुने जिल्ला अदालतको फैसला सदर गरेको छ।
न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला भने बदर गरेको छ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा २०७७ जेठ १० गते आफ्नी प्रेमिका लिन साथीहरु लिएर पुगेका नवराजसहितलाई केटी पक्षले कुटेर मारेको आरोप लागेको थियो। मृतकहरुको शव नदीमा भेटिएको थियो। आरोपी पक्षले भने भाग्नेक्रममा युवकहरु आफै नदीमा हाम फालेको दावी गर्दै संलग्नता अस्विकार गर्दै आएका थिए। दलित युवक र गैह्र दलित युवतीबीचको प्रेम सम्बन्धको विषय भएकाले यसलाई जातीय छुवाछुत र भेदभावसँग जोडेर हेरिएको थियो।
डम्बरबहादुर मल्ल (तत्कालीन वडा अध्यक्ष), नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल र विष्णु मल्लसहित नवराजकी प्रेमिकाका बुबा र दाजु (नाम गोप्य राखिएको)लाई जन्मकैद भएको हो।
कानुनअनुसार जन्मकैदको अवधि २५ वर्ष रहेको छ।


