काठमाडौं । टेस्ट मान्यता प्राप्त देशसँग बाइ ल्याटरल सिरिज खेल्ने नेपालको सपना चाँढै पुरा हुने भएको छ।
नेपालसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न वेस्ट इन्डिज तयार भएको छ। वेस्ट इन्डिज र नेपालबीच आगामी सेप्टेम्बरमा तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृख्ला हुँदै छ।

नेपाल क्रिकेट संघले यसबारे बिहीबार सार्वजनिक गरेको छ। यसको आयोजक नेपाल हुने छ र खेल युएईको शारजाह क्रिकेट मैदानमा हुने छ।
नेपाल क्रिकेट संघ-क्यानका अनुसार आगामी सेप्टेम्बर २७,२८ र ३० तारिखमा नेपालले वेस्ट इन्डिजसँग उक्त शृंखला खेल्ने छ।
टी-२० विश्वकपको छनोटको पूर्व सन्ध्यामा नेपालले वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। टी-२० विश्वकपको एसियाली छनोट अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा हुँदै छ।
विश्वकपको छनोटमा यसपटक यसपटक एसियाल र इस्ट एसिया प्यासिफिका टोलीलाई सँगै राखिएको छ। इस्ट एसिया प्यासिफिकका ३ र एसियाका ६ टोली गरेर ९ टोलीले विश्वकप छनोट खेल्ने छन्। जसबाट ३ टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
नेपालले पछिल्लोपटक गत वर्ष वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजित विश्वकप खेलेको थियो जहाँ दक्षिण अफ्रिका र बंगलादेशसँग नेपाल जित नजिकै पुगेर निराश भएको थियो।
टी-२० र एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको लामो समय भइसकेपनि नेपालले टेस्ट मान्यता प्राप्त देशसँग बाइल्याटरल सिरिज खेल्ने मौका पाएको थिएन।
नेपालले सन् २०१४ को विश्वकप खेलेपछि टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। सन् २०१८ मा विश्वकपको विश्वस्तरको छनोटबाट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
तर यसबीचमा लामो समयसम्म टेस्ट राष्ट्रसँग बाइल्याटरल सिरिज खेल्ने मौका नेपाललाई मिलेन। कुनै प्रतियोगितामा भेट हुनेबाहेक दुई टोलीबीचको मात्र भिडन्त यसबीचमा सम्भव भएन।
पारस खड्का नेपाल क्रिकेट संघ-क्यानको सचिव भएपछि उनले टेस्ट राष्ट्रसँग बाइ ल्याटरल सिरिजका लागि पहल गर्ने बताएका थिए। खासगरी नेपालले मात्र यसका लागि पहल गरेर पुग्दैन थियो। टेस्ट राष्ट्रहरु पनि नेपालसँग खेल्न तयार हुनुपर्थ्यो।
टी-२० क्रिकेटमा सबैभन्दा सफल मध्येको एक टोली वेस्ट इन्डिजले नेपालको प्रस्तावलाई स्विकार गर्नु महत्वपूर्ण मानिएको छ। नेपाली क्रिकेटप्रति क्यारेबियन क्रिकेट सँधै सकारात्मक देखिन्छ।
गत वर्ष नेपालले टी-२० विश्वकप खेल्नुअघि वेस्ट इन्डिजले आफ्नो ए टिम नेपाल पठाएको थियो। टेस्ट राष्ट्रको ए टिम सँग भएपनि नेपालले बाइ ल्याटरल सिरिज खेलेको यो पहिलोपटक थियो। टेस्ट टिमको ए टिम नै भएपनि खेल्न पाउनु नेपालका लागि अवसर त थियो नै । त्यत्तिकै उल्लेखीय वेस्ट इन्डिजको ए टोली नेपाल आएर खेल्नु पनि थियो। नेपालले उक्त टोलीसँग निकै राम्रो खेल्यो। नेपाल आएका केही खेलाडीले वेस्ट इन्डिजबाट विश्वकप पनि खेलेका थिए।
नेपाली क्रिकेटको फ्यान बेस विश्वलाई लोभ्याउने छ। विश्वभर नेपालले खेल्ने खेलहरुमा उल्लेखीय नेपाली समर्थक देखिन्छन्। घरेलु मैदानमा नेपालले खेलेका प्रतियोगितामा हरेकपटक कीर्तिपुर मैदान भरिन्छ।
वेस्ट इन्डिजले नेपाली क्रिकेटको त्यो फ्यान बेस देखेको छ गत वर्ष नेपाल आउँदा र विश्वकपमा नेपालले खेल्दा। गत नेपाल प्रिमियर लिगमा वेस्ट इन्डिजका महान् क्रिकेटर ब्रारा लारा पनि नेपाल आएका थिए।
लाराले पनि नेपाली क्रिकेटको विकाशमा सहयोग गर्ने बताउँदै आएका छ्न। विश्वको प्रतिष्ठित मध्येको एक क्यारेबियन प्रिमियर लिग जुन वेस्ट इन्डिजले प्रतिनिधित्व गर्ने क्यारेबियन क्षेत्रमा हुन्छ त्यसमा नेपालका सुपर स्टार क्रिकेटर सन्दीप लामिछानेले पटकपटक खेलेका छन्। वेस्ट इन्डिजका खेलाडीहरुले पनि नेपालका व्यावशायीक क्रिकेट प्रतियोगिता खेलेका छन्।
टी-२० क्रिकेट भन्ने वित्तिकै वेस्ट इन्डिज र उनिहरुका खेलाडीलाई सम्झिने धेरै छन्। किनभने वेस्ट इन्डिजका खेलाडीहरु ठुला प्रहार गर्न सक्छन्। वेस्ट इन्डिज दुईपटक टी-२० विश्वकप विजेता पनि हो।
अब विश्वकप छनोटजस्तो महत्वपूर्ण प्रतियोगिता अगाडि नेपालले वेस्ट इन्डिजसँग खेल्नु र खेल्न पाउनु एउटा गतिलो अवसर हुन सक्छ। नेपाली टिमले आत्मविश्वास बढाउन सक्छ। जसरी गत वर्ष वेस्ट इन्डिज एसँग खेल्दै तयारी गरेर नेपालले विश्वकपमा तहल्का मच्चाएको थियो।
जे होस् एउटा बलियो टेस्ट राष्ट्रले नेपालसँग बाइल्याटरल सिरिज खेल्न तयार हुनुले यसले अन्य टेस्ट राष्ट्रलाई पनि राम्रै सन्देश दिने छ। नेपाली समर्थक खासमा घरेलु मैदानमै टेस्ट राष्ट्रसँग नेपालले खेलेको हेर्न चाहन्छन्। त्यसका लागि नेपालले बलियो पूर्वाधार र सुरक्षा व्यवस्थापनको ग्यारेन्टी गर्नुपर्छ। जुन सपना सायद अबको केही समयमा नेपाली समर्थकको पुरा हुने छ। फ्लड लाइट र प्यारापिटसहित कीर्तिपुर मैदान तयार भएपछि टेस्ट राष्ट्रलाई बोलाउन सजिलो हुने छ। बस उनिहरु मान्छन की मानदैनन् त्यो उनिहरुको कुरा हो।

