काठमाण्डौं – केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा सम्पन्न भएको छ ।
बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

‘विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ’, प्रवक्ता काफ्लेले भने,’ मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।’
त्यसैगरी बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिमसहित परिचालन गर्ने तयारी भएको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन्।
‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ’ प्रवक्ता काफ्लेले भने, ‘ सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ।’


