काठमाडौं। यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोड्ने सवारी साधनलाई कारबाही र जरिवाना गर्ने निर्णय आफैले खारेज गरेको छ।
चौतर्फी विरोधपछि मंगलबार महानिर्देशक राजिब पोखरेलले एक विज्ञप्तिमार्फत इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई तत्काल कारबाही र जरिवाना नहुने उल्लेख गरेका हुन्। विभागले सर्वसाधारणलाई आफू अनुकूल यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ।

‘असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरून्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिएको सम्बन्धमा पनि विभागले स्पष्टीकरण दिएको छ।
सर्वोच्चको संवैधानिक इजलासबाट सम्झौता अनुसार अंग्रेजी लिपी प्रयोग गर्न कुनै संवैधानिक र कानूनी त्रुटि नहुने भनेर २०७६ मंसिर २७ गते फैसला भएको विभागले जनाएको छ।


