काठमाडौं। ललितपुरमा शनिबार मन्त्रि सवार गाडीले पैदल यात्रीलाई ठक्कर दिएर,नरोकी हुँईकिएको घटनाले सामाजिक सन्जाल तात्यो।
ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको थियो।

ठक्कर दिएपछि को १ झ ६९९ नम्बरको सरकारी गाडी घटनालाई वेवास्था गर्दै अगाडि बढेको थियो। घटना बिहान सवा ७ बजेतिर ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा भएको थियो।
उक्त गाडीले बाटो क्रस गरिरहेकी ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन्।
घटनाको सिसिटिभी फुटेज बाहिर आएपछि मन्त्री विवादमा तानिएका छन्। प्रहरीका अनुसार घाइते बालिकाको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने गाडीलाई पनि नियन्त्रणमा लिइएको छ।
कोशी प्रदेशका आर्थिक मन्त्री मगर गोदावारीमा भइरहेको एमाले विधान महाधिवेशनमा सहभागी हुन गइरहेका थिए।


