सेप्टेम्बर ८ र ९ तारिखमा भएको जेन जी आन्दोलन नेपाल प्रहरीका एक वरिष्ठ अधिकृतलाई महँगो बनेको छ। एसएसपी विश्व अधिकारीका लागि सम्हालि नसक्नुको परिस्थिती आइपरेको छ। सायद उनी विश्वास गर्न सकिरहेका छैनन्।
आइतबार नेपाल प्रहरीमा रिक्त ५ नायब महानिरिक्षक अर्थात डीआईजको दरबन्दीका लागि बढुवा सिफारिस निकालियो। गृह मन्त्रालयले तिहारको विदा सकिएलगत्तै बढुवा सिफारिस निकालेको थियो। कति बेला बढुवा निस्केला भनेर आकांक्षीहरु कुरेर बसेका थिए।

तर दाबेदार अधिकारीको नाम कतै देखिएन। उनी छुटे। नेपाल प्रहरीको भावी आईजिपीका रुपमा दावेदार देखिएका अधिकारी जसरी बढुवामा छुटेका छन्, उनका लागि यो ठुलो सजाय सरह देखिएको छ।
विश्व अधिकारी २०५६ सालमा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा सुरु गरेका अधिकृत हुन्। उनी आफ्नो त्यस ब्याचका पहिलो नम्बरका एसएसपी थिए।
आइतबार निकालिएको बढुवा सिफारिस सूचीमा अधिकारीपछि लहरै रहेका ५ जना डीआईजी बढुवामा सिफारिस भए। तर एक नम्बरमा रहेका अधिकारी ५ जनालाई बढुवाका लागि सिफारिस गर्दा पनि अँटाउन सकेनन्।
गृह मन्त्रालयले २०८० साल बैशाख १५ गते १८ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो। त्यतिबेला बढुवा सूचीमा रहेका दुईदेखि ६ नम्बरसम्मका अधिकृतहरु क्रमश भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले यसपटक डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। उनिहरु को ही पनि वरियतामा तलमाथी समेत भएनन्। तर त्यतिबेला एक नम्बरमा रहेका विश्व अधिकारी भने छुटेका हुन्।
२०७५ मंसिर १९ गते एसपीमा बढुवा हुँदा पनि विश्व अधिकारी आफ्नो ब्याचबाट एक नम्बरमा थिए। त्यतिबेला आफ्नो ब्याचबाट सानुराम दुई नम्बर, ओम अधिकारी तीन नम्बर, शेखर खनाल पाँच नम्बर र अविनारायण काफ्ले ६ नम्बरमा थिए।
अहिलेको ऐन कानुनका व्यवस्था कायम रहे २०५६ मा जागिर खाएको इन्सेपेक्टरको ब्याचबाट नेपाल प्रहरीले दुई वर्षपछि अर्थात २०८४ सालमा आईजिपी पाउँने छ। त्यसका लागि अब डिआईजीबाट ८ जना एआईजी र त्यसपछि एक जना आईजिपी बन्नेछन्।
यसअघि लगातार दुईपटक एक नम्बरमा बढुवा भएका अधिकारी आईजिपि बन्ने बाटोतर्फ लम्किरहेका बेला किन बढुवामै छुटे ?
नेपालमा भएका पछिल्ला दुईवटा ठुला घटनामा विश्व अधिकारी काठमाडौं प्रहरी प्रमुख थिए। चैत १५ गते भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक बन्दा दुई जना सर्वसाधारणको ज्यान गएको थियो। तत्कालिन केपी ओली सरकारले दुर्गा प्रसाई समूहले आन्दोलनलाई हिंसात्मक बनाएको आरोप लगायो। प्रसाईलगायत प्रदर्शनकारीहर पक्राउ पनि परे। काठमाडौंको सुरक्षा कमान्ड कमजोर बनेको देखिएपनि राजावादीहरुमाथि थोपरिएको आरोपका कारण अधिकारी जोगिए अर्थात उनलाई सरुवा गर्नेसम्मको कुनै निर्णय भएन।
त्यसपछि सेप्टेम्बर ८ र ९ तारिखमा भएको जेनजी आन्दोलन जसमा काठमाडौं प्रहरी सबैभन्दा बढि आलोचना र आक्रमणको केन्द्रमा रह्यो। शान्तीपूर्ण प्रदर्शन गर्ने भनेका जेनजीहरले पहिलो दिन बानेश्वरको निषेधित क्षेत्र पार गर्दै संसद भवन घेर्दे बारम्बार त्यहाँ छिर्ने प्रयाश गरेका थिए।
प्रहरीले सयौँ राउन्ड गोली चलायो। कति मान्छेको ज्यान गयो, कति घाइते भए तपाईहरुलाई थाहा नै छ। त्यस घटनाले आक्रोशित भिडले भोलीपल्ट बिहानैदेखि नेताका घर, व्यापारिक प्रतिष्ठानदेखि सरकारी भवनहरुमा आगजनी थालेको थियो।
दिउँसो प्रहरी कार्यालय तोडफोड गर्दै हतियारसमेत खोसेका थिए। त्यसपछि संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन जलाएका थिए। आन्दोलनबारे सुरक्षा तयारी कमजोर भएकै कारण यी सबै परिस्थितिसम्म देश पुगेको टिप्पणी भइरहेको छ।
आन्दोलनपछि बनेको जेनजी सरकारले जाँचबुझ आयोगमार्फत घटनाका दोषीहरुको पहिचान गरेर कारबाही गर्न तयारी गरिरहेको छ। जेनजी सरकारले आन्दोलनको झन्डै डेढ सातापछि अधिकारीलाई काठमाडौं परिसरबाट हटाएको थियो। आन्दोलनमा मारिएका प्रदर्शनकारीमध्ये अधिकांश काठमाडौंमै भएको प्रहरी दमनमा ज्यान गुमाएका हुन्।
काठमाडौं प्रहरी प्रमुख भएको हिसाबले सुरक्षा कमजोरीको सम्पूर्ण नैतिक जिम्मेवार अधिकारी थिए। अधिकारी गत माघमा काठमाडौं प्रहरी प्रमुख बनेर आएका थिए। अर्थात झन्डै साढे ७ महिना उनी काठमाडौंको प्रहरी प्रमुख बने। तर उनको पालामा काठमाडौमा विर्सनालयक दुईवटा घटना भए जसमा प्रहरी जोडिएको थियो।
जेनजी आन्दोलनमा भएको ज्यादती, दमन र मानवीय क्षतिमा जाँचबुझ आयोगले विश्व अधिकारीलाई दोषी देखाउँछ या देखाउदैन, देखाए पनि कति देखाउँछ त्यो त आगामी दिनले भन्ने नै छ तर यतिबेला ब्याचमै लगातार पहिलो नम्बर रहँदै आएको अधिकृत डीआईजिजस्तो दर्जाका लागि बढुवामा छुट्नु अधिकारीका लागि ठुलो सजायजस्तो बनेको छ।
फिल्ड अप्रेसनमा उल्लेख्य अनुभव नभएको भन्दै अधिकारीलाई काठमाडौंको जिम्मेवारी दिँदा नै टिकाटिप्पणी भएको थियो। उनी सुदुर पश्चिमी जिल्ला अछामको भएकाले नेपाली कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवासँग जोडेर पनि बेलाबखत उनको नाम आउने गरेको थियो। पछिल्लो समय काठमाडौंमा भएको एक अर्को घटनाले पनि अधिकारीलाई विवादमा ल्याएको थियो। विवादास्पद ठेकेदार मनोज भेटवालले दिएको झन्डै १० करोड रुपैयाँको चेक नसाटिएको भन्दै जाहेरवाला प्रहरीकहाँ पुगेका थिए। काठमाडौं प्रहरीले त्यस जाहेरी दर्ता गर्न आनाकानी गरेको थियो सुरुमा। तर चर्को आलोचना र दबाबपछि प्रहरी भेटवाललाई पक्राउ गर्न तयार देखियो। तर त्यसपछि अचम्म के भयो भने भेटवालकै उजुरीका आधारमा जाहेरवालालाई पनि पक्राउ गरियो।
त्यतिबेला प्रहरीले भेटवालसँग अस्वभाविक साँटगाठ देखाएको सर्वत्र टिप्पणी भएको थियो। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जबर्जस्ती मुद्धा चलाउन खोजिएको भन्दै ती जाहेरवालालाई छाड्न प्रहरीलाई निर्देशन दिएको थियो। यसरी हेर्दा काठमाडैं प्रहरी प्रमुख बनेर आउनु नै विश्व अधिकारीका लागि अभिशापजस्तो बनेको छ।
यता अहिले एक नम्बरमा डीआईजीका लागि सिफारिस भएका भुपेन्द्र खत्री नेपाल प्रहरीमा उच्च व्यावशायीक आचरण भएका अधिकृत मानिन्छन्। रौतहट प्रहरी प्रमुख रहेका बेला उनले तत्कालिन कांग्रेस सांसद अफताब आलमलाई पक्राउ गरि बम विस्फोट र हत्याको घटनामा मुद्धा चलाएका थिए। उनले यसअघि काठमाडौं प्रहरी प्रमुख भएर पनि काम गरेका थिए जसको उल्लेख्य चर्चा भएको थियो।


