काठमाडौं। नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै मैदानमा पुगेर हराएको छ। सिलोङमा सोमबार भएको मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले भारतलाई २-१ गोलले हरायो। नेपालको जितमा दुवै गोल सावित्रा भन्डारी साम्बाले गरिन्।
उनले दोस्रो र ६३ औँ मिनेटमा गोल गरेकी थिइन्। पहिलो गोल उनले लङ पासमा आएको बलमा विपक्षी डिफेन्डरलाई बिट गर्दै डिबक्स भित्र प्रवेश गरेपछि गरेकी थिइन्। गोलकिपर अगाडि बढेको मौकामा उनलाई गोल गर्न गाह्रो भएन। दोस्रो गोल उनले फ्रिकिकमार्फत गरिन्।

अन्तिम समयमा भारतले एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन। नेपालले भारतमा पहिलोपटक घरेलु टोलीलाई हराएको हो। पाँच खेलयता भारतले नेपाललाई हराउन सकेको छैन। यसबीचमा नेपालले तीन जित र दुई बराबरीको नतिजा निकालेको छ।
भारत साफ च्याम्पियनसिपको सर्वाधिक उपाधि विजेता टोली हो। हालसम्म ७ पटक यो प्रतियोगिता आयोजना भएकामा भारतले सुरुका ५ संस्करण जितेको थियो भने दुई संस्करणयता बंगलादेशले जितेको छ। नेपाल ६ पटक फाइनल पुगेर पनि उपविजेतामा सिमित बनेको थियो।

