काठमाडौं- बैंकको सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत विदेश भ्रमणमा जाँदा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने भएको छ।
राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन लागेको हो। जसका लागि बैंकका सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतले विदेश भ्रमण गर्दा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने व्यवस्था गरिएको हो।

यसअघिजस्तै सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमणमा जानुपर्दा भ्रमण गरिने मुलुक, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको विषय, भ्रमण गर्दा लाग्ने खर्च एवं सम्बन्धित इजाजतपत्रप्राप्त संस्थालाई हुने लाभ समेतको विश्लेषण गर्नुपर्ने व्यवस्था निरन्तर गरिएको छ।
साथै विदेश भ्रमण कार्यक्रम मितव्ययी हुने गरी सम्पन्न गर्नुपर्ने उल्लेख छ।

