काठमाडौं। ४ पटकको विजेता जर्मनी जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। आइतबार बिहान आईभरिकोस्टलाई २-१ गोलले हराउँदै जर्मनी १२ वर्षपछि पहिलोपटक समूहगत चरण पार गर्न सफल भएको हो।
जर्मनीका दुवै गोल डेनिज उन्दाभले गरे

जर्मनीले यो खेल जित्न विजयी गोल इन्जुरी समयको पनि अन्तिमतिर गरेको थियो। २९ वर्षीय स्ट्राइकर उन्दाभले ६८ र इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका हुन्। उनलाई जमाल मुसियालाको स्थानमा मैदान प्रवेश गराइएको थियो। अघिल्लो खेलमा क्युरासाओविरुद्ध पनि उन्दाभले एक गोल र २ असिस्ट गरेका थिए। त्यस खेलमा ६४ औँ मिनेटमा मुसियालाकै स्थानमा मैदान प्रवेश गरेका थिए।
आइतबार बिहान भएको खेलमा आईभरिकोस्टले जर्मनीलाई निकै दबाबमा राखेको थियो। ३० औँ मिनेटमा फ्रान्क कासीले गोल गर्दै आईभरिकोस्टलाई अग्रता दिलाएका थिए। लगातार दोस्रो जितसँगै जर्मनी अन्तिम ३२ पुगेको छ।
अर्को खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ गोलले हरायो। डच टोलिका लागि कोडिन गाक्पो र ब्रायन बोबरीले २/२ गोल गरे। गाक्पोकै गोलमा ब्रोबरीले ५ औँ मिनेटमा डच टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा ब्रोबरीले अर्को गोल थप्दा नेदरल्यान्ड्स २-० गोलले अगाडि बढ्यो। गाक्पोले ४७ र ५४ औँ मिनेटमा गोल गर्दै टोलीलाई ४-० गोलले अगाडि बढाए। ५९ औँ मिनेटमा स्वीडेनका एन्थोनी इलांगाले गोल गरेपनि हार खेलमा फर्कन सकेन।
दोस्रो हाफमा मैदान छिरेर एक गोलमा असिस्ट समेत गरेका क्राइसेन्सियो समरभाइलले ८९ औँ मिनेटमा आफै गोल गरे। नेदरल्यान्ड्स पहिलो खेलमा जापानसँग २-२ गोलको बराबरीमा रोकिएको थियो।
यता इक्वेडरलाई गोलरहित बराबरीमा रोकेर क्युरासाओले ऐतिहासिक सफलता प्राप्त गरेको छ। आइतबार बिहान भएको खेलमा क्युरासाओका गोलकिपर इलो रुमले शानदार प्रदर्शन गरे। उनले १५ वटा सेभ गर्दै कीर्तिमान बराबरी गरे। विश्वकपको एकै खेलमा यति धेरै संख्यामा Saves गर्ने कीर्तिमान Eloy Room ले सन् २०१४ मा अमेरिका गोलकिपर टिम होवार्डसँग बराबरी गरेका छन्।
इक्वेडरले खेलभर २७ वटा आक्रमण गरेको थियो। पहिलो खेलमा जर्मनीसँग ७-१ गोलले पराजित भएको क्युरासाओले इक्वेडरविरुद्ध राम्रो खेल्यो। झन्डै एक लाख ५० हजार मात्र जनसंख्या भएको यो देशले विश्वकपमा पहिलो अंक प्राप्त गरेको छ। यो उसको पहिलो विश्वकप सहभागिता पनि हो। Eloy Room मियामी एफसीका गोलकिपर हुन्।

