काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्दै आएको कामना सेवा फुट्सल कपको छैटौँ संस्करण सम्पन्न भएको छ। बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको धन्यन्तरी फुट्सलमा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।
पुरुषतर्फ कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइ ब्रेकिङमा ३–२ ले पराजित गर्दै उपाधि जितेको छ । त्यसैगरी, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइ ब्रेकिङमा ५–४ गोलले हराएर उपाधि रक्षा गर्न सफल भयो।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । प्रतियोगिताको समापन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाहरूबीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै आएको छ । यस प्रतियोगिताले विभिन्न संस्थाका कर्मचारीहरूलाई कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत एकै ठाउँमा जोड्ने र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अवसर प्रदान गर्दै आएको छ ।
उक्त प्रतियोगितामा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गदैंछ ।




