काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित एक घरमा छापा मारी ५४ करोड ६० लाख रुपैयाँभन्दा बढी मूल्यको साढे २१ किलो अवैध सुन बरामद गरेको छ।

विशेष सूचनाका आधारमा ‘अपरेसन ब्राभो गोल्फ’ नाम दिएर चलाइएको उक्त कारबाहीका क्रममा अवैध सुन प्रशोधन कारखाना सञ्चालन गरिरहेका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा चीनको जियाङ्सु तथा ग्वाङडोङका २७ वर्षीय हान फेइ, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन रहेका छन्। उनीहरू सबै जना पर्यटकीय भिसामा हङकङ हुँदै नेपाल आएका हुन्।
४ किलोको सूचना, छापा मार्दा भेटियो २१ किलोभन्दा बढी
प्रहरीलाई बुढानीलकण्ठ क्षेत्रमा चिनियाँ नागरिकले अवैध कारखाना खोलेर करिब ४ किलो सुनको कारोबार गरिरहेको प्रारम्भिक सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा बिहीबार साँझ अपराध अनुसन्धान कार्यालयको टोलीले घर घेराउ गरी छापा मारेको थियो।
छापा मार्ने क्रममा प्रहरीले ठोस र अर्धठोस गरी कुल २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको छ, जसको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको छ। बरामद सामग्रीमा १०.९९७ किलोग्राम तौलका ११ वटा तयारी अवस्थाका सुनका बिस्कुट र प्लास्टिकमा बेरिएको १०.७५२ किलोग्राम अर्धठोस (लेसिलो) अवस्थाको सुन रहेका छन्।
भाडाको घरमा अत्याधुनिक सुन प्रशोधन कारखाना
अनुसन्धानका अनुसार हाल अमेरिका बस्दै आएका एक नेपालीको साढे दुई तले घर मासिक ३ लाख ३० हजार रुपैयाँ भाडामा लिएर यो अवैध धन्दा चलाइएको थियो। ‘छु क्यान’ नामक चिनियाँ नागरिकले गत साउनमा ४ महिनाको अग्रिम भाडाबापत १३ लाख २० हजार रुपैयाँ बुझाएर घर सम्झौता गरेका थिए।
घरभित्र सुन सुकाउने ड्रायर मेसिन र पगाल्ने मेल्टिङ मेसिनहरू जडान गरी अवैध रूपमा सुन प्रशोधन गर्ने र विभिन्न आकारमा ढाल्ने कार्य भइरहेको भेटिएको छ। नेपाल भित्र्याइएको लेसिलो अवस्थाको सुनलाई ड्रायरमा सुकाएर पगाल्ने र बिस्कुट बनाएर बजारमा पठाउने गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
कारबाटै २ किलो सुन बरामद र चिनियाँ कनेक्सन
कारखाना सञ्चालन भइरहेको घरको कम्पाउन्डबाट प्रहरीले दैनिक ८ हजार रुपैयाँ भाडामा लिइएको एक कारसमेत बरामद गरेको छ। उक्त कारको चालक सिट नजिकैको बक्समा कागजमा बेरिएका १/१ किलोका दुई वटा तयार सुनका बिस्कुट फेला परेका थिए, जसले उक्त सुन बजारमा सप्लाइ गर्न लागिएको प्रहरीको अनुमान छ।
चीनको ग्वान्जाओमा रहेका ‘जेन जिया ली’ नामक व्यक्तिले वी-च्याट (WeChat) मार्फत निर्देशन दिने र सोही आधारमा काठमाडौँमा सुन प्रशोधन तथा बजारमा बिक्री-वितरण हुने गरेको पक्राउ परेकाहरूले खुलाएका छन्। हवाई मार्गबाट काठमाडौँ ओर्लिएपछि उनीहरू पटक-पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओहोरदोहोर गरेकाले बरामद सुन हवाई रुटबाटै भित्र्याइएको प्रहरीको बलियो आशङ्का छ।




