काठमाडौं। लियोनल मेस्सीले विश्वकप जित्न १७ वर्ष कुर्नु पर्यो, अनि अर्जेन्टिनालाई ३६ वर्ष लाग्यो फेरी विश्व विजेता हुन। बल्ल बल्ल, ४ वर्षअघि विश्व विजेता बन्ने सपना पुरा गरेका लियोनल मेस्सी के फेरी एकपटक विश्व विजेता बन्छन् त ? के अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा गर्छ त ?
यतिबेला धेरै फुटबल प्रेमीको चासो छ। यस्तै अनुमान र अड्कलबाजीका प्रश्नहरुबीच मेस्सी नेतृत्वको अर्जेन्टिनाले बुधबार बिहान विश्वकप यात्रा थाल्दै छ, अफ्रिकन टोली अल्जेरियासँग प्रतिस्पर्धा गरेर। मेस्सीको कप्तानीमा अर्जेन्टिना सन् २०१४ मा फाइनलसम्म पुगेको थियो, जर्मनीले उपाधि जित्न दिएन। त्यतिबेला मेस्सीले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेर गोल्डेन बल जितेका थिए। फेरी मेस्सीकै कप्तानीमा अर्जेन्टिना अघिल्लो संस्करणमा फाइनल पुगेको थियो।

यसपटक उपाधि भिडन्तमा फ्रान्सलाई टाईब्रेकरमा हराएर अर्जेन्टिनाले सन् १९८६ यता पहिलोपटक विश्वकप जित्यो। यसपटक पनि मेस्सी सर्वोत्कृष्ट खेलाडी चुनिए। अघिल्लोपटक अर्जेन्टिनाले डिएगो म्याराडोनाको प्रेरणामा विश्वकप जितेको थियो। विश्वकप नजितेको भनेर मेस्सीलाई पेले र म्याराडोनासँग तुलना गर्न नहुने बहस चार वर्षयता सेलाएको छ।
यसपटक अल्जेरियालाई हराएर सुखद् सुरुवात गर्न चाहन्छ अर्जेन्टिना। हाल फिफा विश्व वरियतामा अर्जेन्टिना पहिलो र अल्जेरिया २८ औँ नम्बरमा छ। अर्जेन्टिनाको विगतको इतिहास र विश्वकपमा साविक विजेताहरुको नियती यस्तो छ की अहिले मेस्सी र यस दक्षिण अमेरिकी महारथीको यात्रा कस्तो हुन्छ भनेर अहिले नै सकारात्मक भइहाल्ने अवस्था छैन।
अर्जेन्टिना साविक विजेताका रुपमा विश्वकपमा सहभागी हुँदा यसअघि दुवैपटक पहिलो खेलमै पराजित भएको थियो। सन् १९८२ को विश्वकपमा अर्जेन्टिनालाई पहिलो खेलमै बेल्जियमले हराएको थियो। त्यतिबेला अर्जेन्टिना दोस्रो चरणबाट बाहिरिएको थियो। त्यसअघि अर्जेन्टिनाले सन् १९७८ को विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलोपटक विश्व विजेता बनेको थियो।
सन् १९९० को विश्वकपमा अर्जेन्टिनाको पुरानै नियती दोहोरियो। त्यतिबेला पनि अर्जेन्टिना साविक विजेताका रुपमा सहभागी भएको थियो। तर पहिलो खेलमै क्यामरुनले हरायो। यसपटक भने अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरेको थियो। साविक विजेताका रुपमा विश्वकपको पहिलो खेलमै पराजित हुने अर्जेन्टिना एक मात्र टिम भने छैन। सन् २००२ को विश्वकपमा फ्रान्स र सन् २०१४ को विश्वकपमा स्पेन पहिलो खेलमै पराजित भएका थिए।
स्पेन र अर्जेन्टिनाबीच एउटा समानता पनि छ। उनिहरु दुवैले विश्वकपको पहिलो खेलमा हार ब्यहोरेर पछि उपाधि नै जितेका छन्।
सन् २०१० को विश्वकपमा स्पेन पहिलो खेलमै पराजित भएको थियो। तर पछि फाइनलसम्म पुगेर उपाधि भिडन्तमा नेदरल्यान्ड्सलाई हराउँदै पहिलोपटक विश्व विजेता बन्यो। गत संस्करणमा अर्जेन्टिना पनि पहिलो खेलमै पराजित भएको थियो साउदी अरबसँग तर उपाधि जित्नबाट उसलाई कसैले रोक्न सकेन।
विश्वकपका पछिल्ला संस्करणहरुलाई हेर्ने हो भने साविक विजेताहरुको नतिजा विर्सनलायक छ, फ्रान्सबाहेक। सन् २००६ को विश्व विजेता इटाली चार वर्षपछि आयोजना भएको अर्को संस्करणमा पहिलो चरण पनि पार हुन सकेन। यस्तै भयो स्पेनलाई पनि। स्पेन सन् २०१४ को विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो। त्यतिबेला स्पेनले पहिलो खेलमै लज्जास्पद हार ब्यहोरेको थियो, नेदरल्यान्ड्सले ५-१ गोलअन्तरले हराएको थियो। त्यस संस्करणको विजेता जर्मनी त्यसपछिका लगातार दुई संस्करण पहिलो चरणबाटै बाहिरिन पुग्यो।
धन्न त्यसपछिको विजेता फ्रान्सको हकमा भने उनिहरुको नियती दोहोरिएन। साविक विजेताका रुपमा उसले फाइनलको यात्रा तय गर्यो। यहाँ उल्लेखनीय छ के भने सन् १९६२ यता कुनैपनि टोलीले विश्वकपको उपाधि रक्षा गर्न सकेका छैनन्। त्यतिबेला ब्राजिलले लगातार दुईपटक उपाधि जितेर उक्त सफलता प्राप्त गरेको थियो।
यसबीचमा जर्मनी, अर्जेन्टिना, ब्राजिल र फ्रान्स लगातार फाइनल भने पुगेका छन्। यसपटक अर्जेन्टिनाले समूहगत चरणमा अल्जेरियाबाहेक अस्ट्रिया र जोर्डनसँग पनि खेल्ने छ। अर्जेन्टिनाको लय पछिल्ला केही वर्षहरुमा बेजोड देखिन्छ। सन् २०२१ यताका ठुला प्रतियोगिताको उपाधि उसले कुनैपनि गुमाएको छैन।
यसबीचमा दुईपटक कोपा अमेरिका, एकपटक विश्वकप र एकपटक फानइलिस्सिमाको उपाधि जितेको छ। उसले पछिल्ला सबै ७ खेल जितेको छ भने १५ खेलयता १३ जित, एक हार र एक बराबरीको नतिजा निकालेको छ।
अल्जेरियाको लय पनि राम्रै छ। उसले १९ खेलयता १४ जित, २ हार र ३ बराबरीको नतिजा निकालेको छ। अर्जेन्टिना र अल्जेरिया अन्तिमपटक सन् २००७मा भिडेका थिए, त्यो खेल अर्जेन्टिनाले ४-३ गोलले जितेको थियो।


