काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौलाले बाजी मारेका छन्। १५ औँ महाधिवेशनबाट उनिहरु निर्वाचित भएका हुन्।
उपसभापतिका दुई खुला पदमा भण्डारी र आचार्य तथा समावेशी पदमा चौधरी निर्वाचित भएका हुन्। उपसभापतिमा भण्डारीले ३ हजार ७३५ मत प्राप्त गरे। आचार्यले २ हजार ३४२ मत पाएर दोस्रो स्थान हासिल गरे भने समावेशी समूहबाट निर्वाचित चौधरीले १ हजार ७४५ मत प्राप्त गरे।

महामन्त्रीका दुई खुला पदमा पौडेल र राणा विजयी हुँदा महिला पदमा संग्रौला निर्वाचित भएकी छन्।
पौडेलले सबैभन्दा बढी ४ हजार १९४ मत प्राप्त गरे। राणाले २ हजार ३३० मत पाएर दोस्रो स्थान हासिल गर्दै पद सुरक्षित गरे। महिला महामन्त्रीमा निर्वाचित संग्रौलाले ३ हजार ११८ मत प्राप्त गरिन्।




