काठमाडौं। बाराको सिमरामा गाडीभित्र मृत भेटिएका नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बा घटनामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टरसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारी, जितपुर सिमरा उपमहानगरपालिकाका २७ वर्षीय पुरुषोत्तम कुमार दास र सोही ठाउँ बस्ने २० वर्षीय इन्द्रजित कुमार चौहान रहेका छन्। मृतक रुम्बा सिमरा विमानस्थलमा कार्यरत थिए। तिवारी पनि सोही विमानस्थलमा खटिएका थिए।

पुस ६ गते बिहान रुम्बाको जितपुर सिमरा-११ बकुलियास्थित सडक खन्डमा इभि कारभित्र शव भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा रुम्बाको गोली प्रहारबाट हत्या गरिएको पाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।



