काठमाडौं। नेपालले आगामी चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रिय-ओडीआई मान्यता जोगाएको छ।
विश्वकप लिग टुको यो साइकलमा छैटौँ स्थान हात पारेपछि नेपालले ओडीआई मान्यता जोगाएको हो। सन् २०१८ मा पहिलोपटक एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले त्यसयता लगातार जोगाइरहेको छ।

आईसिसीले हाल ८ वटा एसोसिएट राष्ट्रलाई ओडीआई मान्यता दिइरहेको छ। १२ टेस्टसहित विश्वका १८ वटा राष्ट्र हाल ओडीआई मान्यताप्राप्त रहेका छन्।
विश्वकप लिग-२ मा यसपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले शीर्ष ६ टोलीले ओडीआई मान्यता जोगाउछन् भनेर औपचारिक निर्णय सार्वजनिक गरेको छैन तर लामो समयदेखि चर्चामा रहेको थियो।
सोमबार नेपालले ओमानलाई हराएर अंक तालिकाको छैटौँ स्थानमा रहेपछि एसियाली क्रिकेट काउन्सिल-एसिसीले भने ओडीआई मान्यता जोगाएको भन्दै नेपाललाई बधाई दिएको छ।
नेपालले विश्वकप लिग टुको यो साइकलमा ३६ खेल खेलेकामा १४ जित र २० हारको नतिजा निकाल्यो। दुईवटा खेल भने अनिर्णित भएपछि अंक एक एक अंक बाँढेको थियो।
विश्वकप लिग टु आईसिसीका एसोसिएट सदस्यले मात्र खेल्ने सबैभन्दा ठुलो ओडीआई प्रतियोगिता हो। यो प्रतियोगिता एसोसिएट सदस्यका लागि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने र एकदिवशीय विश्वकप खेल्न पाथ वे पनि हो। गत संस्करणमा विश्वकप लिग टुका शीर्ष ४ टोलीले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएका थिए भने शीर्ष तीन टोली ग्लोबल क्वालिफायरमा छनोट भएका थिए।




