काठमाडौं। काठमाडौको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ती शुद्धीकरण अभियोग पत्र दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अभियोगपत्र दायर भएसँगै बस्नेत मेयरबाट निलम्बित भएका छन्।

पद्यम कोलोनी र पद्यम मर्चेन्ट प्रालिका सन्चालक रहेका राजु कँडेलबाट जग्गा र नगद गरी ९ करोड २२ लाख ४६ हजार ३२ रुपैया घुस लिएको आरोप बस्नेतमाथी लागेको छ। कँडेल जगतगुरु कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष पनि हुन्।
अख्तियारका अनुसार मेयर बस्नेतले जगतगुरु कृपालु प्रतिष्ठानलाई विभिन्न शीर्षकमा कर छुट दिएको, ४ अर्ब ४८ करोड वैदेशिक सहायतका लागि सहमती दिएको तथा स्थानीयको करिब ४८ करोड रुपैयाँ पर्ने जग्गा २३ करोड २२ लाख २७ हजार रुपैयाँमा पद्यम कोलोनीलाई उपलब्ध गराएको र त्यसबापत मेयर बस्नेत र उनकी दम्पतीलाई ६ करोड ८२ लाख रुपैयाँ पर्ने जग्गा र २ रोड १५ लाख ७३ हजार ३ सय ९५ रुपैयाँ प्राप्त भएको थियो।
घुस बापत प्राप्त भएको रकम लुकाउन, रुपान्तरण गर्न र हस्तान्तरण गर्ने कार्य गरेको सम्पत्ती शुद्धीकरणको कसुरमा मेयर बस्नेतविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो दावी गर्दै अर्को अभियोग दायर भएको छ।


