काठमाडौं। नेपाल पुलिस क्लबले बहुदिवशीय जय ट्रफी क्रिकेटको उपाधि जितेको छ। फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीबार एक सय ३ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लब ७४ रनमा अलआउट भयो। आर्मीविरुद्ध पुलिसका सागर ढकालले ६ र ललितनारायण राजबंशीले ४ विकेट लिए।
आर्मीका इमरान शेखले २८ तथा विनोद भण्डारी र सोमपाल कामीले ११/११ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंक छुन सकेनन्। तृतराज दास २, भीम सार्की ५, बासिर अहमद ७ र विवेक यादब ८ रन जोडेर आउट भए। सुमित श्रेष्ठ र सन्तोष कार्कीले खाता खोल्न सकेनन्।

पुलिसले ललित र सागरलाई मात्र बलिङमा लगातार उतारेको थियो। त्यसअघि साहब आलम र बासिर अहमदले ५/५ विकेट लिएपछि पुलिस दोस्रो इनिङ्समा एक सय ३९ रनमा समेटिएको थियो। पहिलो इनिङ्समा आर्मीले एक सय ७० र पुलिसले एक सय ३३ रन जोडेका थिए।
प्रतियोगितामा प्रधानमन्त्री कपका शीर्ष चार टोलीमध्येका मधेश प्रदेश र बागमति प्रदेश पनि सहभागी थिए। लिग चरण दुई दिवशीय थियो भने फाइनल तीन दिवशीय रहेको थियो।

