रियाद। क्रिस्टियानो रोनाल्डोले साउदी अरबको प्रो लिग क्लब अल नासरसँगको सम्झौता २ वर्ष लम्ब्याएका छन्। ४० वर्षे रोनाल्डो सन् २०२७ सम्म अल नासरमा रहने भएका छन्।
अल नासर र रोनाल्डोबीचको सम्झौता आगामी जुन ३० तारिखमा सकिँदै थियो। केहि साता अघि रोनाल्डोले अल नासर छाड्न सक्ने संकेत गरेका थिए। तर करार सकिनुभन्दा केही दिनअघि बिहीबार राती नविकरण भएको छ।

५ पटकका बेलोन डीअर विजेता रोनाल्डो सन् २०२२ को डिसेम्बरमा अल नासर भित्रिएका थिए। यो वर्ष रोनाल्डोले पोर्चुगलका लागि नेसन्स लिगको पनि उपाधि जितेका छन्। गत सिजन रोनाल्डोले अल नासरका लागि ४१ खेलमा ३५ गोल गरेका थिए। उनी साउदी प्रो लिगका लागि सिजनकै सर्वाधिक गोलकर्ता पनि बनेका थिए।
रोनाल्डोले अल नासरका लागि हालसम्म एक सय ११ खेलमा ९९ गोल गरेका छन्। उनले आफ्नो करियरमा ९ सय ३८ गोल गरिसकेका छन्। यो सिनियर राष्ट्रिय टोली र प्रिमियर डिभिजन क्लबबाट खेल्दा गरेको कुल गोल हो।
नयाँ सम्झौताअनुसार रोनाल्डोलाई अल नासरले वार्षिक एक सय ६७ मिलियन पाउन्ड दिने स्पेनिस अखबार मार्काले जनाएको छ। अल नासरबाट हालै प्रमुख प्रशिक्षक स्टेफानो पियोलीलाई विदा गरेको थियो। रोनाल्डो भित्रिएयता अल नासरले ४ जना प्रमुख प्रशिक्षक फेरिसकेको छ। अल नासरले घरेलु लिगको उपाधि जित्न सकेको छैन।
यसबीचमा रोनाल्डोलाई क्लबको स्वामित्व र प्रशिक्षकको पनि जिम्मेवारी प्रस्ताव गरिएकोबारे चर्चा भएपनि त्यसबारे हाल केही स्पष्ट छैन। यसअघि अल नासरसँगको सम्झौता सकिने समय नजिकिरहेका बेला रोनाल्डो अन्य क्लबमा जान सक्ने चर्चा चुलिएको थियो। रोनाल्डो आफैले क्लब विश्वकप खेल्ने टोलीले प्रस्ताव गरेपनि अस्विकार गरेको बताएका थिए।
रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड,युभेन्ट्स, स्पोर्टिङजस्ता क्लबबाट खेलेका थिए।


