काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करणको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सले सुदुर पश्चिम रोयल्सलाई ६ विकेटले हरायो।
पहिला ब्याटिङ गरेको सुदुर पश्चिम रोयल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोडेको थियो। सुदुर पश्चिमका इसान पाण्डेले ३३, दीपेन्द्रसिंह ऐरीले १० तथा हर्मित सिंह र स्कट कुगेेलिनले १०/१० रन बनाए। लुम्बिनी लायन्सका रुबेन ट्रम्पलम्यान, शेर मल्ल र रोहित पौडेलले तीन तीन विकेट लिए।

लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। दिेनेश अधिकारीले १३ बलमा ४३ रन बनाए। कप्तान रोहित पौडेलले १६, डार्सी सर्टले १४ र निकोलस डिकवालाले ११ रन जोडे। ट्रम्पलम्यान प्लेयर अफ दी म्याच भए। प्लेयर अफ दी टुर्नामेन्ट रोहित बने। उनले कार पाए। सर्वोत्कृष्ट नेपाली बलर सन्दीप लामिछाने र इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट शेर मल्ल बने। उनिहरुसँगै सर्वाधिक रन जोड्ने नेपाली ब्याटर समेत बनेका रोहित पौडेलले जनहीँ मोटरसाइकल पुरस्कार पाए।
प्रतियोगितामा पहिलो खेल जितेर लगातार तीन खेल हारेको लुम्बिनी त्यसपछि लगातार ६ खेल जितेर उपाधि हात पार्न सफल भयो। सुदुर पश्चिम रोयल्स लगातार दोस्रोपटक फाइनलमा निराश बन्यो।



