काठमाडौं। विश्वकप फुटबलअन्तर्गत पछिल्ला खेलहरुमा पूर्व विजेता स्पेनले साउदी अरबलाई ४-० गोलले हराएको छ। स्पेनको जितमा मिकेल ओयारजबलले दुई र लेमिन यमालले एक गोल गरे। एक गोल साउदी अरबका खेलाडीबाट आत्मघाती भयो।
पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनको चर्को आलोचना भएको थियो। साउदी अरबविरुद्ध यमालले १० औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। ओयारजबलको पासमा उनले गोल गरेका थिए। त्यसपछिका लगातार दुई गोल ओयारजबल आफैले गरे। उनले २१ र २४ औँ मिनेटमा गरेका थिए।

दोस्रो हाफमा साउदी अरबबाट आत्मघाती गोल भएको थियो। स्पेनले यमाल र ओयारजबललाई पहिलो हाफपछि सब्स्टिच्युट गरेको थियो। यो जितपछि स्पेनको २ खेलबाट ४ अंक भएको छ। उरुग्व र केप भर्डेको २ खेलबाट समान २ अंक रहेको छ। साउदी अरबको एक अंक छ। स्पेनले अन्तिम खेलमा उरुग्वेसँग खेल्ने छ।
अर्को खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेल्यो। दुईपटकको विश्व विजेताविरुद्ध सुरुवाती अग्रता भने केप भर्डेले लिएको थियो। केभिन पिनाले २१ औँ मिनेटमा सुरुवाती गोल गरेका थिए।
तर उरुग्वेका म्याक्सिमिलियानो अराउजुले ४४ र अगस्टिन क्यानबबियोले इन्जुरी समयमा गोल गरेपछि पहिलो हाफमा २-१ गोलले अगाडि बढ्यो। हेलियो भरेलाले ६१ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए। केप भर्डे विश्वकप पहिलोपटक खेलिरहेको छ। उसले पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो।
यस्तै बेल्जियमले इरानसँग गोलरहित बराबरी खेल्यो। अमेरिका र इजरायलको संयुक्त आ क्रमणबाट लगभग ख रानी भइरहेको अवस्थामा विश्वकप खेल्न पुगेको इरानले लगातार दोस्रो खेलमा बहादुरीपूर्ण खेल्यो। उसले पहिलो खेलमा न्युजिल्यान्डसँग २-२ गोलको बराबरीमा खेलेको थियो। बेल्जियमले पनि पहिलो खेलमा इजिप्टसँग बराबरी खेलेको थियो।


