काठमाडौं। क्रिस्टियानो रोनाल्डोको कमब्याक प्रदर्शनपछि विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० गोलले हराएको छ।
पहिलो खेलमा तुलानात्मकरुपमा कमजोर टोली डीआर कंगोसँग बराबरीमा रोकिएपछि पोर्चुगलको आलोचना भएको थियो। दोस्रो खेलमा पोर्चुगलले सुरुवातदेखि नै दबाबपूर्ण प्रदर्शन गर्यो। रोनाल्डोले दुई तथा नुनो मेन्डेस र राफायल लियोले एक एक गोल गरे। एक गोल आत्मघाती भएको थियो।

रोनाल्डोले विश्वकप तथा युरोकपमा १० खेलयता पहिलो गोल गरेका हुन्। विश्वकपमा उनको गोल संख्या १० पुगेको छ। उनी ६ वटा अलग विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। ४१ वर्षीय रोनाल्डोले सन् २००६ यताका हरेक विश्वकपमा गोल गरेका छन्।
पछिल्ला अन्य खेलमा क्रोएसियाले पनामालाई १-० गोलले हरायो भने इङ्ल्यान्ड, घानासँग गोलरहित बराबरीमा रोकियो। क्रोएसियाका एन्ते बुदिमिरले ५४ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
समूहमा इङ्ल्यान्ड र घानाको २ खेलबाट ४ अंक भएको छ। क्रोएसियाको ३ अंक छ भने पनामाले अंक जोड्न सकेको छैन।

