काठमाडौं। फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।
शुक्रबार बिहान भएको क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० गोलले हरायो। फ्रान्सको जितमा केलियन एमबाप्पे र ओसमाने डेम्बेलेले गोल गरे। पहिलो हाफमा प्राप्त पेनाल्टी अवसरमा चुकेका एमबाप्पेले दोस्रो हाफमा टिमलाई अग्रता दिलाएका थिए। उनले डेम्बेलेको गोलमा पनि असिस्ट गरे।

फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
एमबाप्पेले जारी प्रतियोगितामा ८ गोल गरेका छन्। अघिल्लो विश्वकपमा उनले यति नै गोल गरेर गोल्डेन बुट जितेका थिए। यसपटक अर्जेन्टिनाका लियोनल मेस्सीले पनि ८ गोल गरिसकेका छन्।


