काठमाडौं। स्पेन दोस्रोपटक विश्वकप फुटबलको विजेता बनेको छ। सोमबार बिहान भएको फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १-० गोलले हरायो। स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे।
एक सय ६ औँ मिनेटमा उनले उक्त गोल गरेका थिए। त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। अर्जेन्टिना दोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा सिमित भएको थियो। इन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्डका कारण मैदान छाड्नु परेको थियो।

स्पेनले यसअघि सन् २०१० मा विश्वकप जितेको थियो। त्यतिबेला युरोकप र विश्वकप लगातार जितेको थियो। यसपटक पनि त्यस्तै इतिहास दोहोर्याएको छ। खेलभर स्पेन हावी भएको थियो।
स्पेनका कप्तान रोड्रि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भएर गोल्डेन बल जित्न सफल भए। स्पेनकै पाउ कुरबासी सर्वोत्कृष्ट युवा खेलाडी र उनाई सिमोन सर्वोत्कृष्ट गोलकिपर चुनिए।

