काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ। सोमबार राती सम्पन्न खेलमा नेपालले नामिबियासँग ३ रनले हार ब्यहोर्यो।
नेपालले २ सय १२ रनको लक्ष्य पाएको थियो। निर्धारित ५० ओभरमा २ सय ८ रन मात्र जोड्न सक्यो। नेपाललाई अन्तिम ओभरमा १७ र अन्तिम बलमा ५ रन चाहिएको थियो जितका लागि।

नेपालको इनिङ्समा आसिफ शेखले ४५, रोहित पौडेलले ४१, आरिफ शेखले ३८ र कुशल भुर्तेलले ३४ रन बनाए। इशान पाण्डे १४, भीम सार्की १ र दीपेन्द्रसिंह ऐरी ३ रन बनाएर आउट भए।
अघिल्ला दुवै खेलमा नेपाल एक सय ५७ रनमा सिमित भएको थियो। यो हारपछि नेपाल ३१ खेलबाट २४ अंक जोडेर तालिकाको छैटौँ स्थानमा रहेको छ। ३१ खेलबाट २६ अंक भएको नामिबिया पाचौँ स्थानमा उक्लिएको छ। सातौँ स्थानमा रहेको क्यानडाको २८ खेलबाट २४ अंक छ।
नेपालले अब प्रतियोगितामा ५ खेल खेल्न बाँकी छ।

