काठमाडौं । सरकारले सेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि सारेको कर कटौतीसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब ३६५ दिन वा सोभन्दा कम अवधि सेयर स्वामित्वमा राखेर बिक्री गर्दा हुने नाफामा ५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा हुने नाफामा ३.५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ। मन्त्रिपरिषद्को निर्णयअनुसार यी दरहरू अग्रिम करका रूपमा कायम गरिएको हो।

यसअघि चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाएको थियो। त्यसअनुसार एक वर्षभन्दा कम अवधिका लागि सेयर होल्ड गर्ने लगानीकर्ताले १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गर्नेले ७.५ प्रतिशत कर तिर्दै आएका थिए।


