काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार बसेको सचिवालय बैठकले गरेको निर्णयहरुले प्रधानमन्त्री निवास बालुवाटारदेखि पुलिस हेडक्वाटर हुँदै सर्वोच्च अदालतसम्म तरंग सृजना गरेको छ।
बैठकले केही दिनअघि सन्चार गृहका समाचार कक्षमा प्रवेश गरि पत्रकारमाथी भएको धरपकडदेखि सर्वोच्च अदालतका न्यायधिशहरु विवादमा परेका विषयमा निर्णयहरु गरेको छ।

‘बलियो र जवाफदेही लोकतन्त्रको आधारस्तम्भ मानिने सञ्चार क्षेत्रमा २०८३ कार्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएको भनिएका केही गतिविधिहरु संविधान र दलको मूल आदर्शविपरीत छ। गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको अविलम्ब पहिचान र छानबिन गरी कडा कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई निर्देशन दिन्छ’, रास्वपाद्धारा जारी विज्ञप्तीमा भनिएको छ।
प्रहरीले प्रधानमन्त्री कार्यालयको दबाबमा पत्रकारलाई नियन्त्रणमा लिइएको बताएको छ भने प्रधानमन्त्री कार्यालयले आफ्नो कुनै भूमिका नरहेको दावी गरेको छ। यता विचौलिया इनम सापकोटा र सर्वोच्च अदातलका न्यायधिश हरि फुयाँलबीच देखिएको कनेक्सनलाई लिएर रास्वपाले महाअभियोगको तयारी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कतिपय न्यायाधीशहरू नै मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाहरूले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि गम्भीर प्रश्न खडा गरेका छन्। यसले न्यायालयको शुद्धीकरण र जवाफदेहिताका पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको एजेन्डालाई थप पुष्टि गरेको छ। न्यायालयभित्रका यी विकृतिलाई विधिसम्मत तवरले निरूपण गर्न संसदबाटै निर्णायक कदम चाल्न र यस विषयलाई तार्किक निष्कर्षमा पुर्याउन संसदीय दललाई निर्देशित गरिन्छ।’
न्यायधिश फुयाँलले मुद्धाका सन्दर्भमा सापकोटालाई होटलमा बोलाएर भेटेको र अन्य केही न्यायधिश पनि उनीसँग त्यहाँ गएको आफैले स्विकारेका छन् ।




