काठमाडौं। नेपाल प्रिमियर लिग क्रिकेटमा अहिलेसम्मकै ठुलो लक्ष्य पुरा भएको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएर प्रतियोगितामा पहिलो जित हात पार्दा एक सय ९२ रनको लक्ष्य पुरा गरेको हो।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले अन्तिम ओभरमा आवश्यक १५ रन एक बल बाँकी रहँदै पुरा गरेर रोमान्चक जित हात पारेको हो।

स्कटिस खेलाडी क्रिस सोलले विवेक यादबलाई अन्तिम ओभरको अन्तिम तीन बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए। विराटनगर किङ्सको पारीमा लोकेस बमले ७१, बासिर अहमदले ४० र मार्टिन गुप्टिलले २८ रन जोडे। त्यसअघि कप्तान रोहित पौडेलको ४६ र टम मोरेसको ३० रन योगदानमा लुम्बिनी लायन्सले प्रतियोगिताकै ठुलो लक्ष्य दिएको थियो।
लुम्बिनी लायन्स पहिलो खेलमै पराजित भएको हो भने विराटनगर किङ्सले सुरुका दुई खेलमा हारेपछि पहिलो खेल जितेको हो।



