काठमाडौं। अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प पछिल्लो समय न्युयोर्कका ३४ वर्षीय युवकदेखि आँत्ति रहेका थिए। अझ भनौँ ती युवकले ट्रम्पलाई आँत्तिनुपर्ने अवस्थामा पुर्याएका थिए।
ट्रम्प ती युवक जोहरान मम्दानीलाई घरी कम्युनिस्ट भन्थे त घरी उनी न्युयोर्कको मेयरमा निर्वाचित भए संघीय सरकारले दिने फन्डिङ नै कटौती गर्ने धम्की दिन्थे। ट्रम्पले हदैसम्मको प्रयाश गरे, मम्दानीलाई मेयर हुनबाट रोक्न।

न्युयोर्कको मेयरमा डेमोक्रेटिङ पार्टीबाट जोहरान उठेका थिए। ट्रम्पको पार्टी रिपब्लिकनबाट कुर्तिस उमेद्ध्वार थिए। अर्का उमेद्ध्वार थिए एन्ड्रियु कुमो जो डेमोक्रेटिङ पार्टीको उमेद्धवारका लागि भएको निर्वाचनमा मम्दानीसँग पराजित भएका थिए। पार्टीबाट टिकट नपाएपनि कुमोले स्वतन्त्रबाट चुनाव लड्ने निर्णय लिए। न्युयोर्कका पूर्व गभर्नर भएकाले कुमोलाई स्वतन्त्र उठेपनि बलियो दावेदारका रुपमा हेरिएको थियो। ट्रम्प कतिसम्म आँत्तिएका थिए भने उनले आफ्नो पार्टीका उमेद्ध्वार स्लिवालाई छाडेर कुमोलाई मत दिन आह्वान गरे। की त डेमोक्रेटिङको भोट काटिन सक्छ या बरु कुमोले जितुन्। सायद ट्रम्पले यस्तै सोचेको हुनुपर्छ ।
न्युयोर्कमा हालका मेयर एरिक एडम्स पनि डेमोक्रेटिङ पार्टीकै हुन्। उनीभन्दा अघिल्ला मेयर पनि डेमोक्रेट पार्टीकै थिए। अर्थात रिपब्लिकनको दबदबा न्युयोर्कमा कम देखिन्छ। त्यसैले यसपटक पनि डेमोक्रेट उमेद्ध्वारले नै चुनाव जित्ने आँकलन गरिएको थियो। ट्रम्प भने मम्दानीलाई रोक्न लागेर बरु कुमो नै ठिक भनेजसरी लागेका थिए।
मम्दानीको राजनीतिक इतिहास त्यति लामो छैन। उनी सन् २०२० मा न्युयोर्क स्टेट एसेम्ब्लीको सदस्य निर्वाचित भएका थिए। त्यसयता यो पदमा उनी दुईपटक पुन निर्वाचित भइसकेका छन्। त्यसअघि उनी हाउजिङ काउन्सिलर थिए। र्याप गितहरु गाउथे। केही महिना अगाडिसम्म उनी गुमनाम जस्तै थिए। जब उनि डेमोक्रेटिक पार्टीको उमेद्ध्वार बन्न जंगिए, त्यसपछि उनको एकाएक चर्चा बढ्यो। खासगरि सामाजिक सन्जालको भरपुर प्रयोग गरे र आफ्ना एजेन्डाहरु न्युयोर्क बासीलाई सुनाए, उनिहरुलाई कन्भिन्स गर्ने प्रयाश गरे।
न्युयोर्क सबैले बाँच्न सक्ने सहरका रुपमा विकाश गर्ने भनेर प्रचार गरे। उनले वर्किङ क्लास अर्थात काम गरेर खानेका लागि न्युयोर्क कति गाह्रो छ भनेर तथ्यांकहरु प्रस्तुत गरे। बिबिसीसँगको कुराकानीमा मम्दानीले भनेका थिए- न्युयोर्कमा हरेक ४ जनामा एक जना गरिब छन्। हरेक रात ५० हजार बालबालिका यहाँ भोकभोकै सुत्ने गरेका छन्।
उनिहरुका लागि कसरी न्युयोर्क धान्न सकिने हुन्छ अर्थात अफोर्डेबल हुन्छ भनेर आफ्नो नीतिहरु सुनाए। उनले एफोर्डेबल हाउजिङलाई आफ्नो मुख्य एजेन्डा बनाए।
मम्दानी आफुलाई डेमोक्रेटिङ सोसलिस्ट भन्न रुचाउँछन जसले राजनीतिक रुपमा सबैको समान पहुँच र अवसरबारे एडभोकेसी गर्छ। मम्दानीका यस्ता एजेन्डाको लोकप्रियता ट्रम्पले जाँचिसकेका थिए। मम्दानी मेयर नहुन् भनेर ट्रम्पले उनलाई कम्युनिस्टको संज्ञा दिए। यो गत जनुतिरकै कुरा हो।
सायद अमेरिकीहरु कम्युनिस्टलाई मन पराउँदैनन् भन्ने लागेर उनले त्यसो गरेका थिए। खासमा मम्दानीको धार्मिक पृष्ठभूमी ट्रम्पका लागि चिन्ताको सबैभन्दा ठुलो कारण थियो। मम्दानी मुस्लिम थिए। मुस्लिमप्रति ट्रम्प र उनको प्रशासनको नीति त्यति उदार थिएन विगतमा र अहिले पनि छैन। मम्दानीले कुनै समय कलेज पढ्दा प्यालेस्टाइनको न्यायका लागि भन्दै विधार्थी संगठन चलाएका थिए। न्युयोर्कको इतिहासमा यसअघि कहिले पनि मुस्लिम मेयर निर्वाचित भएको थिएन।
मम्दानी भारतीय मुलका हुन्। उनी परिवारका एक्ला सन्तान हुन्। मम्दानीको जन्म युगान्डाको कम्पालामा भएको थियो। गुजरातको मुस्लिम परिवारका बुबा महमुद मम्दानी सानै उमेरमा युगान्डा पुगेका थिए। पछि महमुदको विवाह पन्जाबको हिन्दु परिवारकी मिरा नायरसँग भयो। मम्दानी ७ वर्षको हुँदा उनलाई लिएर महमुद र मिरा अमेरिका बसाई सरेका थिए।
मानवशास्त्री महमुद अमेरिकाको कोलम्बिया विश्वविधालयमा प्राध्यापन गर्दै आएका छन् भने आमा मिरा फिल्म मेकर हुन्। मम्दानीले अमेरिकी विश्व विधालयमा अफ्रिकन स्टडिज विषयमा डिग्री पनि लिए। हाउजिङ काउन्सिलरका रुपमा काम गर्दा वर्किङ क्लासका लागि न्युयोर्क कति गाह्रो छ भनेर उनले राम्रोसँग बुझ्ने अवसर पाए। पछि यसैलाई उनले चुनावी एजेन्डा बनाए। न्युयोर्कमा धेरै कमाउनेहरुमाथी कर बढाएर आफुले उक्त नीति कार्यान्वयन गर्ने मम्दानीले योजना सुनाएका थिए।
मंगलबार न्युयोर्कको मेयरका लागि मतदान भयो। ट्रम्प र उनको प्रशासनलाई गम्भिर चोट दिने गरी मम्दानी न्युयोर्कको मेयर निर्वाचित भएका छन्। उनले न्युयोर्कको इतिहासमा सबैभन्दा कम उमेरमा मेयर बन्ने कीर्तिमान रचेका छन्। दक्षिण एसियाली मुलको व्यक्ति पहिलोपटक अमेरिकामा मेयर निर्वाचित भएको छ। उनी विजयी सभालाई सम्बोधन गर्दै राजनीतिक अन्धकारको समयमा न्युयोर्क उज्यालो हुने बताएका छन्। उनले ट्रम्पलाई सिधै सम्बोधन गरे। उनको त्यस भाषणलाई ट्रम्पले पनि हेरिरहेको अनुमान गर्दै भोल्युम बढाएर सुन्न भने।
मम्दानीले यसै वर्ष सिरियन मुलकी २८ वर्षीया रमा दुवाजीसँग विवाह गरेका थिए। रमा एनिमेटर तथा आर्टिस्ट हुन्। उनले विजयि सभामा श्रिमतीलाई सँगै राँख्दै उनको भूमिका महत्वपूर्ण रहेको बताए। मम्दानीले आगामी जनवरी १ तारिखमा कार्यभार सम्हाल्नेछन्।
अमेरिकाको सबैभन्दा ठुलो शहरको शासकका रुपमा मम्दानी जसरी उदाए त्यसलाई काठमाडौंका मेयर बालेन्द्र शाह बालेनसँग तुलना भइरहेको छ। र्याप गाउने गरेका बालेन पनि सोसल मिडिया क्याम्पियनमार्फत नेपालकै सबैभन्दा ठुलो महानगरपालिका काठमाडौंको मेयर निर्वाचित भएका थिए। बालेनको उदयले अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो जसरी अहिले मुस्लिमप्रति कडा नीति लिने ट्रम्प प्रशासनले देशकै सबैभन्दा ठुलो शहरमा मुस्लिमलाई मेयरका रुपमा पाएको छ।

