काठमाडौं। नेपाल प्रिमियर लिगको शनिबार भएको फाइनलअघि तीनवटा कुराहरुमा चासो थियो। उपाधि कस्ले जित्ला, कार कसले पाउला अनि सामाजिक सन्जालदेखि मैदानसम्म झगडा गर्न उत्रिएका समर्थकहरुको व्यवस्थापन कसरी होला ?
त्रिवि क्रिकेट मैदानमा झन्डै १५ हजार दर्शकसामु सुदुर पश्चिम रोयल्सलाई हराएर जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको पहिलो संस्करण जितेको छ। सुदुर पश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ६० लाख रुपैयाँको कार प्राप्त गरेका छन् अनि सोचेभन्दा शान्तिपूर्ण तरिकाले दर्शकले खेल हेरेका छन्।

फाइनलसम्म पुग्नेक्रममा सुदुर पश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई दुईपटक हराएको थियो। एकपटक लिग चरणमा र अर्कोपटक क्वालिफायरमा। त्यसैले सुदुर पश्चिम रोयल्सलाई तुलानात्मकरुपमा बलियो उपाधि दावेदार मानिएको थियो। जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दासानायकेले उपाधि जितेपछि त्यसलाई स्विकार पनि गरे।
तर तीनै जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भने क्वालिफायरमा सुदुर पश्चिम रोयल्ससँग हारेपछि फाइनल पुगेर बदला लिने बताएका थिए। दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर आसिफले उक्त बाचा पुरा गर्ने सम्भावना कायमै राखेका थिए। फाइनलअघि आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा आसिफले विगतका सबै हार बिर्सिएर खेल्ने बताएका थिए।
त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो साढे १२ बजे सुरु भएको खेलमा सुदुर पश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय लिए। फाइनलमा लागि रोजिएको पिच ब्याटिङ मैत्री भएको दुवै टोलीले बुझेका थिए।
सुदुर पश्चिमले एक सय ८५ रनको लक्ष्य दियो। जनकपुर त्यही टोली थियो जसले लिग चरणमा सुदुर पश्चिम रोयल्ससँग ५१ रन जोडेर अलआउट भएको थियो। यति कम रनमा कुनैपनि टोली अलआउट भएका थिएनन् र छैनन्। तर जनकपुर बोल्ट्स फाइनलमा खह्रो उत्रियो। शानदार सुरुवात गरेको जनकपुर बोल्ट्स त्यति ठुलो लक्ष्य भएर पनि कुनै पनि समय दबाबमा देखिएन, संयमता नगुमाई खेल्यो। र ४ बल बाँकी रहँदै ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो, सुदुर पश्चिम रोयल्सलाई स्तब्ध मात्र बनाएन, नेपाल प्रिमियर लिगमा पहिलो विजेता बनेर कहिल्यै नतोडिने इतिहास पनि रच्यो।
जनकपुर बोल्ट्सको यो सफलतामा सामाजिक सन्जालमा मधेशमाथी न्याय भएको र मधेशले जवाफ दिएको टिप्पणीहरु भइरहेका छन्। जनकपुर बोल्ट्सले खेलेका अघिल्ला खेलहरुमा मधेशी समुदायलाई होच्याउने गरी गालीगलौजहरु भएको भन्दै सामाजिक सन्जालहरुमा चर्को आलोचना भएको थियो।
यहाँ तपाईहरुले बुझ्नैपर्ने कुरा के छ भने नेपाल क्रिकेट संघ क्यानले देशका विभिन्न क्षेत्रहरुको प्रतिनिधित्व हुने गरी ८ वटा फ्रेन्चाइजहरुको नाम राखेको थियो। ती फ्रेन्चाइजहरुको मालिक को हुने भनेर अक्सन गरिएको थियो र ती फ्रेन्चाइजहरुबाट क-कसले खेल्ने भनेर पनि अक्सन गरिएको थियो। त्यसैले फ्रेन्चाइजहरुका मालिकहरु त्यही ठाउँका हुन्छन् र खेलाडीहरु पनि त्यसै क्षेत्रका मात्र हुन्छन् भनेर यो प्रतियोगिताको समग्र फर्म्याटले नै परिकल्पना गरेको थिएन र छैन।
अब चर्चा गरौँ कार विजेताबारे। नेपाल प्रिमियर लिगको विजेता टोलीले पाउने पुरस्कारको राशी थियो एक करोड १० लाख रुपैयाँ। अनि सर्वोत्कृष्ट नेपाली खेलाडीले पाउने कारलाई पर्ने रकम थियो ६० लाख रुपैयाँभन्दा बढी। त्यसैले प्रतियोगिता कसले जित्छ भन्ने सँगसँगै कार पाउने नेपाली खेलाडी को हुने छ भनेर पनि चासो बढिरहेको थियो। अन्तत सुदुर पश्चिम रोयल्सका कप्तान दीपेन्द्रलाई कार दिइयो। कार विजेताको घोषणापछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दासानायकेले असन्तुष्टी जनाए। उनको भनाई थियो की कारको असली हकदार जनकपुर बोल्ट्सका ललित नारायण राजबंशी हुन्।
एकछिन ललितको प्रदर्शनलाई हेरौँ। ललित १७ विकेटसहित सुदुर पश्चिम रोयल्सका स्कट कुगेलिनसँगै सर्वाधिक विकेट लिने बलर बने। बलिङ इकोनोमीमा ललित कुगेलिनभन्दा अगाडि रहे। ललितको बलिङ इकोनोमी ५.३२ थियो भने प्रतियोगिताभर ५ मेडन फ्याँकेका थिए। ललितले तीनवटा क्याच पनि लिएका थिए। उनले प्रतियोगितामा खेलेका १० मध्ये एउटा खेलमा मात्र विकेट लिन सकेनन्। लिग चरणमा काठमाडौं गुर्खाजविरुद्ध प्लेयर अफ दी म्याच पनि भएका थिए।
यता दीपेन्द्रले एक अर्धसतकसहित २ सय २७ रन जोडे भने ७ को इकोनोमीमा ९ विकेट पनि लिए। उनले तीन वटा क्याच गरेका थिए भने ६ वटा रनआउट गरेका थिए। उनी दुईपटक प्लेयर अफ दी म्याच पनि भए। पहिलो खेलमा विराटनगर किङ्स र लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध उनले प्लेयर अफ दी म्याच अवार्ड जितेका थिए। यही कारण दीपेन्द्रलाई कार जित्ने बलियो दावेदार मानिएको थियो।
यहाँ उल्लेखनीय के छ भने प्रतियोगितामा सर्वाधिक रन जोडेका जनकपुरका लाहिरी मिलान्थालाई २ लाख रुपैयाँ पुरस्कार दिइएको छ। यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित सुदुर पश्चिम रोयल्सका सेफ जाईबले ५ लाख रुपैयाँ पाएका छन्। बेस्ट बलर घोषित भएका ललितलाई भने करिब १० लाख रुपैयाँ पर्ने इलेक्ट्रिक बाइक दिएको छ। क्यानले यहाँ निकै ध्यान पुर्याएर ललितलाई महँगो मोटरसाइकल दिएको देखिन्छ जबकी यसअघी बेस्ट बलरलाई मोटरसाइकल दिने चर्चै थिएन। खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा मोटरसाइकल पाएपछि ललित निकै खुसी देखिन्थे। उनले जिम्मी निसामलाई पछाडि राखेर पुरस्कार पाएको मोटरसाइकल कुदाएका थिए।



