काठमाडौं। नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलपछि उपाधि विजेतालाई पुरस्कार वितरण गर्न शनिबार त्रिवि क्रिकेट मैदानमा दुई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचन्ड स्टेजमा पुगेका थिए। विजेता खेलाडीलाई मेडल लगाई दिइरहँदा देउवा र दाहाल बारम्बार कसले लगाउने भने कन्फ्युन्ज देखिन्थे।
त्यसो त उनिहरु सँगै भएका तस्विरहरु अहिले सामाजिक सन्जालमा ट्रोल बनिरहेका छन्। त्यसको कारण हो उनिहरुबीच नदेखिएको हार्दिकता। उनिहरु सँगै भएर पनि पानी बाराबारजस्तो हाउबाउमा प्रस्तुत भए। देउवाले प्रचन्डलाई छाडेर केपी शर्मा ओलीसँग सत्ता गठबन्धन गरेपछि उनिहरुबीच तिक्तता झांगिएको अनुमान हुँदै आएको छ। प्रचन्डले सार्वजनिक रुपमै भन्दै पनि आएका छन्।

खासमा प्रचन्ड र देउवा पुरस्कार वितरणमा सहभागी हुनु एक्सिडेन्टल मात्र थियो। नेपाल क्रिकेट संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथीका रुपमा बोलाएर मेडल वितरण गर्न लगाउने योजना बनाएको थियो। त्यसका लागि उनलाई बोलाइएको पनि थियो।
तर अन्तिम समयमा प्रधानमन्त्री ओलीले फाइनल बंक हाने। इटहरीमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओली फाइनलमा आउन नसक्ने उनको सचिवालयले क्यानलाई जानकारी गराएको थियो।
आम युवाको मास सेन्टिमेन्ट जोडिने हरेक कुरामा आफ्नो उपस्थिती देखाई हाल्ने प्रधानमन्त्री ओलीले इटहरीमा जानैपर्ने त्यस्तो के कार्यक्रम थियो ? युवाका सफलतालाई सम्मान र पुरस्कृत गर्न अग्रसर हुने ओली के कति कारणले कीर्तिपुर मैदानमा आएनन् वा आउन सकेनन् ?
नेपाली खेलकुदले प्राप्त गरिरहेको सफलता र यसमा पोजेटिभीटी देखाउँदा छर्लङ हुने लोकप्रियता प्रधानमन्त्री ओलीले नबुझेका होइनन्। पछिल्लोपटक प्रधानमन्त्री नियुक्त भएपछि ओलीले तीन सय दिनभित्र त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइट जडानको काम सक्ने सार्वजनिक गरेका थिए।
उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बोलाएरै त्यस विषयमा छलफल गरेका थिए। यसबाट उनले राम्रै पोजेटिभ मास एटेन्सन पाएका थिए। अन्य अवसरमा पनि उनी बधाई दिएर होस् या खेल हेरिरहेको तस्विर राखेर, आफुले खेलकुदलाई नियालीरहेको संकेत दिन खोज्छन्।
तीन साताअघि धरहरामा एनपीएल ट्रफी सार्वजनिक गर्दा प्रधानमन्त्री ओली सहभागी थिए। उनले ८ वटै फ्रेन्चाइजका मार्की खेलाडीका बारेमा बोलेको सुन्दा लागेको थियो- उनले एनपीएललाई नजिकबाट नियालेर महत्व दिइरहेका छन्। मार्की खेलाडीले प्रधानमन्त्री ओलीसँग धरहराको टुप्पोमा पुगेर ट्रफीसहित फोटोहरु खिचाए। प्रधानमन्त्री ओलीकै सचिवालयले पनि भिडियो बनाएर राखेको थियो। उनी एनपीएलको उद्घाटनमा सहभागी थिएनन्। खेलकुदमन्त्री आएका थिए। तर प्रधानमन्त्री ओलीले आफ्नो चासो भने सामाजिक सन्जालबाट देखाइरहे। फाइनलको एक दिनअघि शुक्रबार उनले त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट जडानका लागि बोलपत्र खुला गरिएको सूचना सार्वजनिक गरे। त्यही दिन उनले नेपाल क्रिकेट संघ-क्यानका सचिव पारस खड्का र चर्चित कमेन्टेटर एन्ड्रियु लियोनार्दलाई बोलाएर सम्मान गरेका थिए।
शनिबार बिहान उनले सामाजिक सन्जालमा भिडियो नै राखेर फाइनलमा भिड्न लागेका दुवै टिमलाई बधाई दिएका थिए। सँगै उनले आफु फाइनल खेल हेर्न नआउने सन्देश पनि छाडेका थिए। इटहरीमा हुन लागेको नेपाल जेसिसको महाधिवेशन उद्घाटनमा जानका लागि महिनौँ अघि समय फिक्स भएको भन्दै आफु खेल हेर्न आउन नपाउने उनले जानकारी दिएका थिए।
खेल हेर्न त्रिवि क्रिकेट मैदान नपुगेका प्रधानमन्त्री समाजिक सन्जालबाट भने एनपीएलमै जोडिरहेका छन्। उनले साँझ विजेता बनेको जनकपुर बोल्ट्सलाई बधाई दिएका थिए। आइतबार बिहान उनले नेपाल क्रिकेट संघ-क्यान पदाधिकारी र विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई बोलाएर बधाई दिए।
एनपीएलमा यति धेरै प्राथमिकता दिइरहेका प्रधानमन्त्री ओलीले जेसिस महाधिवेशनलाई हापेर फाइनल हेर्न किन कीर्तिपुर जान सकेनन् ? प्रधानमन्त्रीले जाने भनेर तय भएका सबै कार्यक्रममा उनि पुग्नैपर्छ भन्ने हुँदैन। विगतमा प्रधानमन्त्री आउने भनिएका कार्यक्रमहरुमा उनिहरु नगएका थुप्रै उदाहरण छन्। विश्वले हेरिरहेका एनपीएल फाइनल प्रधानमन्त्री ओलीको सबैभन्दा प्राथमिकतामा नपर्नु चाहीँ अचम्म लाग्दो कुरा हो।
यहाँ उल्लेख गर्नैपर्ने हुन्छ- केही महिनाअघि आयोजित साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न दरशथ रंगशाला पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो। प्रधानमन्त्रीको मानमर्दन हुने गरी रंगशालामै चर्को नाराबाजी भएको भन्दै सार्वजनिक टिप्पणी पनि भएको होइन। प्रधानमन्त्री ओलीले सम्भावित तीनै घटनालाई ध्यानमा राखेर एनपीएल फाइनल हापेको त होइन, अनुमान गर्न सकिन्छ ? पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी र उसका सभापती रवि लामिछानेका समर्थकहरु प्रधानमन्त्री ओलीको विरोधमा सार्वजनिकरुपमै देखिने गरेका छन्।
हुन पनि त्रिवि क्रिकेट मैदानमा खेल हेर्न आउने करिब १५ हजार दर्शक अनि विश्वभर पुग्ने स्टार स्पोर्टसबाट भइरहेको प्रत्यक्ष प्रशारणबीच सरकार प्रमुखले त्यस किसिमको विश्लेषण गरेनन् होला भन्न सकिन्न। तर जे होस बाहिरैबाट भएपनि प्रधानमन्त्री ओली एनपीएलमा आफ्नो चासो देखाइरहेका छन्।
अन्तिममा खेल हेर्न पुगेका दुई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालको उपस्थितीबारे पनि थोरै कुरा गरौँ। क्यान स्रोतका अनुसार प्रधानमन्त्री ओली नआउने भएपछि प्रमुख अतिथीका रुपमा शेरबहादुर देउवालाई बोलाइएको थियो। नेपाल क्रिकेट संघ-क्यान अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेसका नेता मात्र होइनन्, देउवाकै निकट मानिन्छन्। तर प्रचन्डले पनि खेल हेर्न आउने इच्छा व्यक्त गरेपछि दुई पूर्व प्रधानमन्त्रीलाई अगाडि राखेर पुरस्कार वितरण गर्न लगाउनुपर्ने अवस्था बनेको नेपाल क्रिकेट संघ-क्यानका पदाधिकारीहरु बताउँछन्।

