काठमाडौं- सन्दीप लामिछाने र रोहित पौडेलले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा उनीहरु १६ वर्ष उमेरमा हिड्दै थिए। गुल्सन झा र कुशल मल्लले पनि १५ वर्ष पुरा भएको केही महिनामा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन।
अर्थात माथी उल्लेख गरिएका ४ जनै खलाडीले १५ वर्ष पुरा भएर १६ वर्ष उमेरका दिनहरु बिताइरहेका बेला नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो स्थान बनाएका थिए। रोहित अहिले नेपाली टोलीको कप्तान छन्। कुशल, सन्दीप र गुल्सन नियमित सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछन्।

अब कुरा गरौँ हालै विश्वभर चर्चा पाएको नेपाल प्रिमियर लिगमा इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्टको अवार्ड जितेका स्पीनर विपिन शर्माबारे। भर्खरै १६ वर्ष पुरा भएर १७ वर्षमा हिँडिरहेका विपिनले नेपाल प्रिमियर लिगका ८ खेल खेल्दै १३ विकेट लिए, ५.८९ इकोनोमीसहित।
२ मेडन समेत फ्याँकेका उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा पाचौँ स्थानमा रहे र नेपाली बलरमध्ये तेस्रो भए। सन्दीप लामिछाने, सागर ढकाल, दीपेन्द्रसिंह ऐरीजस्ता राष्ट्रिय टोलीका नियमित सदस्य रहेका स्पीनरभन्दा उनी निकै अगाडि रहे। यतिबेला धेरैको चासो छ विपिन के अब सिनियर राष्ट्रिय क्रिकेट टोलीमा पर्छन् त ?
सुर्खेतमा रहेर एकेडेमीमा क्रिकेट सिकिरहेका विपिनले हालसम्म कुनैपनि उमेर समूहको क्रिकेटमा नेपालको प्रतिनिधित्व गरेका छैनन्। नेपाल प्रिमियर लिग खेल्न पाउनु नै उनका लागि अप्रत्यासितजस्तै थियो। नेपाल प्रिमियर लिग खेल्ने ८ वटै फ्रेन्चाइजले एक एक जना खेलाडीलाई ट्यालेन्ट हन्टबाट ल्याएर टिममा राख्नुपर्ने अनिवार्य गरिएको थियो। यही बाटोबाट विपिन कर्णाली याक्सको टिममा परेका थिए।
पहिलो खेलमा त उनी रोजाईमा परेनन्। तर दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध उनलाई प्लेइङ-११ मा राखियो। उनले खतरनाक माइकल लेविटको विकेट मात्र लिएनन्, चार ओभरमा केवल १८ रन खर्चिए। त्यस यता उनले पछाडि फर्केर हेर्नु परेन। हरेक खेलमा प्लेयर्स टु वाच बने। मै हुँ भन्ने ब्याट्सम्यानहरुको टाउको दुखाए। नेपाल प्रिमियर लिग खेल्न आएका प्रभावशाली विदेशी खेलाडी कसको चाहीँ उनले विकेट लिएनन र।
न्युजिल्यान्डका जिम्मि निसाम हुन् या अस्ट्रेलियाका बेन कटिङ, पाकिस्तानका सोहेल तनविर हुन् या न्युजिल्यान्डका मार्टिन गप्टिल, अमेरिकाका आन्द्रे गौस हुन् या नामिबियाका लफ्टी इटन सबै उनिको बलमा पवेलियन फर्किए। जनकपुर बोल्ट्सको उपाधि यात्रामा मुख्य भूमिका खेलेका निसामलाई त विपिनले च्यालेन्ज नै गरेका रहेछन्-तिमिलाई आउट गर्छु भनेर। खेलपछि उनले छाती फुलाएर खुलासा गरे। विपिनसँग काम गरेका प्रशिक्षकहरुसँग हामीले कुराकानी गरेका थियौँ।
उनिहरुका अनुसार विपिनसँग तीनवटा बलिया हतियार छन्। पहिलो उनी अनुशासित बलिङ गर्छन् जसका कारण ब्याट्सम्यानलाई खेल्न गाह्रो हुन्छ।
दोस्रो उनी ब्याट्सम्यानको साइकोलोजी पढ्छन् र सोहीअनुसार बल फ्याँक्छन्। तेस्रो चाहीँ उनको आत्मविश्वास हो। सानै उमेरमा पनि उनीभित्र एउटा परिपक्व खेलाडी तयार भइसकेको छ।
कतिसम्म भने एनपीएल खेल्न आएका भारतीय क्रिकेटर शिखर धवनले टिमभित्र बिपिनको प्रशंसा गरेका थिए। राम्रो इकोनोमीमा बलिङ गर्नु, राम्रा ब्याट्सम्यानहरुलाई आउट गर्नुले विपिनले राष्ट्रिय टोलीको ढोका ढकढकाउन थालेको विश्लेषणलाई स्वभाविक मान्न सकिन्छ। तर के विपिनले अहिले नै राष्ट्रिय टोलीमा स्थान बनाउन सम्भव छ त ?
जतिबेला रोहित र सन्दीप राष्ट्रिय टोलीमा परेका थिए त्यतिबेला नेपाली टोलीबाट एउटा पुरानो पुस्ता बाहिरिने क्रममा थियो। यो क्रम पछिल्ला २/३ वर्षसम्म कायम रह्यो। गुल्सन र कुशल मल्लहरु राष्ट्रिय टोलीसम्म आईपुग्दा प्रतिस्पर्धा चर्को बन्न थालेको थियो। तर उनिहरु निरन्तर फर्ममा देखिए। अहिले नेपाली टोलीमा धेरै जसो युवा खेलाडी छन्। क्रिकेटको माहोल यस्तो बनिरहेको छ की कसैलाई पनि अब राष्ट्रिय टोलीमा स्थान बनाइरहन सजिलो छैन। राष्ट्रिय टोलीमा आउन संघर्ष गरिरहेका खेलाडीको आकार पनि ठुलो देखिन्छ।
नेपाली टोलीमा अहिले सन्दीप लामिछाने, ललितनारायण राजबंशी र सागर ढकाल स्पीन स्पेसलिष्ट बलर हुन्। त्यसममध्ये सन्दीप र ललित पहिलो रोजाईका स्पीनर हुन्। ब्याटरहरु कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल पनि राम्रो स्पीन बलिङ गर्ने क्षमता राख्छन्।
नेपाल प्रिमियर लिगमा ललित सर्वाधिक विकेट लिने बलर नै बनेँ। सन्दीपको प्रदर्शन उल्लेखनीय रहन सकेन। उनले आलोचना नै बढी खेपे। सागर पनि विकेट लिने सवालमा कमजोर देखिए। सन्दीप र सागरभन्दा बढी विकेट त कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले लिए। सन्दीपले ६ र सागरले ५ विकेट मात्र हात पारे।
हामी सुन्ने गर्छौ घरेलु क्रिकेटमा अरुले जति नै राम्रो प्रदर्शन गरेपनि राष्ट्रिय टोलीमा पर्ने उनै पुराना खेलाडीहरु हुन्। अर्काथरी भन्ने गर्छन्- फर्म इज टेम्पोररी,क्लास इज पर्मानेन्ट। उनिहरुको मतलब हो- राम्रा खेलाडीहरुले पनि कहिलेकाहीँ लय गुमाउन सक्छन्, तर उनिहरु चाँडै लयमा फर्कन पनि सक्छन्।
यस हिसाबले घरेलु क्रिकेट खेलाडीलाई राष्ट्रिय टोलीमा जाने माध्यम त बन्न सक्छ तर राष्ट्रिय टोलीमै रहेका खेलाडीहरु जबसम्म राष्ट्रिय टोलीबाट राम्रो खेलिरहन्छन् उनिहरुको स्थान लिन अरुलाई सजिलो हुँदैन। राष्ट्रिय टोलीबाट खेल्दा उनिहरुको अनुभव, अन्तर्राष्ट्रिय एक्सपोजरलगायतले अन्य घरेलु खेलाडीहरुभन्दा उनिहरुलाई प्राथमिकता दिने गरिन्छ। त्यसैले घरेलु क्रिकेट प्रतियोगितामा अन्य खेलाडीले राम्रो खेल्दा राष्ट्रिय टोलीका सदस्यहरुमाथी दबाब बढ्छ। नेपाली क्रिकेट र नेपाली टोलीको अहिलेको अवस्थालाई हेर्ने हो भने विगतमा गरेको योगदान वा प्रदर्शन वा अनुभवले मात्र राष्ट्रिय टोलीमा स्थान बनाइरहने अवस्था छैन।
पाएका अवसरमा राम्रो प्रदर्शन गर्न नसक्दा उनिहरु टिमबाट निकालिन पनि सक्छन्। र उनिहरुलाई फेरी राष्ट्रिय टोलीमा आउन घरेलु क्रिकेट प्रतियोगिता माध्यम बन्न सक्छ। यो अवस्थामा माथी आइरहेका नयाँ अनुहारहरुले पनि राष्ट्रिय टोलीमा अवसर पाउन सक्छन् र प्रदर्शन राम्रो गर्न नसक्ने खेलाडीहरु टिमबाट बाहिर हुन सक्छन् भन्ने सन्देश नेपाल क्रिकेट संघले दिन आवश्यक छ।
विश्वका सबै जसो व्यावशायीक प्रतियोगिता खेलिसकेका सन्दीप लामिछानेले नेपाल प्रिमियर लिगमा आफ्नोस्तरको प्रदर्शन गर्न नसकेको छरप्रष्ट देखिएकै हो। अन्य स्पीनरहरुले राम्रो गर्नु र तर त्यही प्रतियोगितामा उनि चल्न नसक्नु सन्दीपमाथी नै प्रश्न हो। प्रतियोगिताको अन्त्यतिर उनले बोलेको यो कुराले पनि त्यसलाई पुष्टी गर्छ।
राष्ट्रिय टोलीमा पर्नु र खेल्न पाउनु दुई फरक कुरा हुन्। कतिपय खेलाडीको त बेन्चमा बसेर करियर सकिन्छ। नेपाली टोलीमा रहेका स्पीनरमध्ये सागर ढकालले पनि प्लेइङ सेटमा कमै अवसर पाउछन्। विपिनका लागि राष्ट्रिय टोलीमा पर्नु, प्लेइङ सेटमा पर्नु अनि पाएका अवसरमा राम्रो प्रदर्शन गर्नु आगामी चुनौतीहरु हुन्। आगामी अन्य घरेलु प्रतियोगितामा उनले कस्तो प्रदर्शन गर्छन् भन्नेले पनि उनी कति माथी पुग्छन् भन्ने अनुमान गर्न सकिन्छ। उनलाई सुन्दा भने विपिन साँच्चीकै परिपक्व देखिन्छन्।

