काठमाडौ- पछिल्लो समय दिनदिनै खुसी बाँडिरहेको नेपाली क्रिकेट फेरी एकपटक विश्वस्तरमा चर्चामा आउँदै छ।
लामो प्रतिक्षापछि नेपाली महिला क्रिकेटले पनि विश्वकप खेल्ने सपना पुरा गर्दैछ, नेपाली समर्थकले पनि विश्वस्तरमा नेपाली महिला क्रिकेटले खेलेको मज्जा लिने मौका पाउँदैछन्।

शनिबारदेखि मलेसियामा सुरु हुने आईसिसी यू-१९ वुमन्स टी-२० विश्वकपमामा नेपालले पनि खेलेको विश्वले देख्ने छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको झन्डै १८ वर्षपछी नेपाली महिला क्रिकेटले कुनैपनि स्तरको विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो।
नेपालले पहिलो चरणमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्दै छ। एउटा मात्र खेल जितेपनि नेपाल सुपर सिक्स पुग्ने सम्भावना बलियो बन्ने छ। किनभने समूहमा रहेका चारमध्ये तीन टोली सुपर सिक्स पुग्नेछन्। त्यसैले नेपालमाथी सबैको नजर हुने छ।
नेपाली महिला क्रिकेटकी पछिल्लो सेनसेसन पुजा महतोको कप्तानीमा नेपालले रच्न लागेको इतिहासमा के के थपिएलान्, नेपाली महिला क्रिकेटमा यो विश्वकपले के अर्थ राख्छ ?
नेपालले सन् २००७ मा पहिलोपटक अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेलेको थियो। तर पहिलो सहभागितामै नेपाली महिला क्रिकेटले सनसनी मच्चायो सिनियरस्तरको प्रतियोगिताको फाइनलसम्म पुगेर। उपाधि भिडन्तमा बंगलादेशसँग पराजित भएपनि त्यतिबेला लागेको थियो नेपाली महिला क्रिकेटले आगामी दिनमा निकै राम्रो गर्ने छ। अझ सजिलो के थियो भने बंगलादेशले त्यसपछि एसिसीका महिला प्रतियोगिताहरु खेलेन।
अर्को कुरा नेपाली पुरुष क्रिकेट टोलिले सिनियर क्रिकेटमा संघर्ष गरिरहेको र भनेजस्तो सफलता प्राप्त नभइरहेको अवस्थामा महिला क्रिकेटले गतिलो सम्भावना देखाएको थियो।
सन् २००८ मा आयोजित एसिसि यू-१९ वुमन्स कप जितेपछि नेपाली महिला क्रिकेटको भविस्य अझ उज्वल देखिएको थियो। यो प्रतियोगिता नेपालले लगातार तीनपटक जित्यो।
तर सिनियर महिला क्रिकेटमा नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन। कहिल्यै उपाधि जित्न सकेन, विश्वकप पुग्न सकेन। यसबीचमा सन् २०१४ मा आयोजना भएको एसिसि प्रिमियर कपमा उपविजेतासम्म बनेको थियो। एसिया कप खेलेर एसियाका टेस्ट राष्ट्रसँग भिड्ने मौका त पायो तर गतिलो छाप छाड्न सकेन।
निराशाबीच सन् २०२४ मा नेपाली महिला क्रिकेटमा केही आशाका किरणहरु देखिए। एसिसि प्रिमियर कपमा मालदिभ्सविरुद्ध रुबिना क्षेत्रीले सतक बनाएर नेपाली महिला क्रिकेटमा इतिहास रचिन्। सिनियरतर्फ एसिया कपमा नेपालले पहिलोपटक जित निकाल्यो, यूएईलाई हराएर। भनिन्छ नी कहिलेकाहीँ वरिपरिको माहोललले पनि धेरै काम गर्छ। नेपालले अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको पुरुष टी-२० विश्वकपमा जुन किसिमको प्रदर्शन गर्यो र जुन माहोल बन्यो त्यो विश्वलाई नै लोभ्याउने किसिमको थियो। यही प्रदर्शनको चर्चा नसेलाउँदै नेपाली यू-१९ महिला टोली गत नोभेम्बरमा टी-२० विश्वकपको एसियाली छनोट खेल्न यूएई पुगेको थियो।
चार टोली रहेको प्रतियोगिताबाट एक टोली मात्र विश्वकप पुग्ने थियो। नेपाल, यूएई, थाइल्यान्ड र कुवेत छनोट प्रतिस्पर्धामा थिए। एउटा टोलीसँग दुईपटक खेल्ने र डबल राउन्ड रोबिन लिगको विजेता विश्वकप पुग्ने भनिएको थियो। अन्तिम खेल बाँकी रहँदासम्म नेपालको आशा कायमै थियो तर सजिलो थिएन।
यूएईलाई हराउनैपर्ने दबाब थियो। आफुभन्दा २ अंकले अगाडि रहेको यूएई घरेलु टोली भएको र एकपटक हारिसकेकाले नेपाललाई माथी उठ्न सजिलो थिएन। जितेपनि नेटरनरेट सुधार्नुपर्ने थियो। पहिला ब्याटिङ गरेको यूएईले ८४ रनको लक्ष्य दियो। कृष्मा गुरुङले ४ तथा रिया शर्मा र सिमा केसीले २/२ विकेट लिए।
कप्तान पुजाले ४ ओभरमा केवल ११ रन मात्र खर्चिन्। नेपालले १४.२ ओभरमा केवल २ विकेट मात्र गुमाएर लक्ष्य भेट्टायो। साना पर्विनले ३५ र पुजा महतोले २१ रन बनाए। नेपालले खेल मात्र जितेन, नेटरनरेटमा यूएईमाथी माथी उक्लिएर विश्वकपमा पनि छनोट भयो।
नेपाली महिला क्रिकेटका लागि यो ऐतिहासिक सफलता थियो किनभने सिनियर क्रिकेटमा एकातर्फ उपाधि जित्न नसक्नु र अर्कोतर्फ विश्वकप पुग्न नसक्नुको पिडा नेपाली महिला क्रिकेटले वर्षौँदेखि व्यहोर्दै आएको छ।
यहाँ उल्लेखनीय के छ भने नेपालले सन् १९९९ को एसिसि यू-१९ कपमा फाइनलसम्म पुगेर त्यसको एक वर्षपछि आयोजना हुने विश्वकपमा स्थान बनाएको थियो। पुरुष क्रिकेटले प्राप्त गरेको यो सफललताको झन्डै २५ वर्षपछि नेपाली महिला क्रिकेटले पनि पहिलोपटक यू-१९ विश्वकप खेल्दै छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले यू-१९ वुमन्स टी-२० विश्वकप आयोजना गर्न लागेको यो केवल दोस्रोपटक हो। यसअघि सन् २०२३ मा आयोजना भएको यो प्रतियोगिताको पहिलो संस्करण भारतले जितेको थियो।
नेपाली टोलीले आफुलाई सजिलो नठान्न प्रतिद्धन्द्धीलाई संकेत गरिसकेको छ। गत डिसेम्बरमा आयोजना भएको एसिसि वुमन्स टी-२० एसिय कपमा नेपालले पाकिस्तानलाई हराएर सुपर फोरसम्मको यात्रा तय गरेको थियो। त्यस खेलमा पुजा महतोले अलराउन्ड प्रदर्शन गरेकी थिइन्। त्यही प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको थियो जोसँग खेलेर नेपालले शनिबार विश्वकपमा डेब्यु गर्दै छ। पुजा महतो, साना प्रविन, सोनि पाख्रिन, सिमा केसीलगायत नेपालले आशा राखेका खेलाडीहरु हुन्।
नेपाली महिला क्रिकेटको पुस्ताका सिता रानामगर, रुबिना क्षेत्रीहरु अझैपनि खेलिरहेका छन्। जुनियर बहिनिहरुले पुरा गरेको आफ्नो सपना हेर्न उनिहरुका लागि कम्ता खुसीको क्षण हुने छैन।


