काठमाडौं। नेपाल १९ वर्षभन्दा मुनीको आईसिसी महिला टी—२० विश्वकप क्रिकेट खेल्न मलेसिया पुग्यो, सबै तीन खेलमा हार्यो र पहिलो चरणबाटै बाहिरियो । के नेपालको कहानी यत्तिमै सिमित भएको हो त ? नेपालको प्रदर्शन र नेपालले निकालेका नतिजामा दुखी हुने की खुसी वा सन्तोष मान्ने ?
हामीलाई नेपालमा यू-१९ महिला क्रिकेटका घरेलु प्रतियोगिताहरु कहिले कहिले भएका थिए भनेर सम्झन गाह्रो छ। यी खेलाडीहरु कसरी जन्मिए भनेर तपाईलाई आश्चर्य लाग्न सक्छ। तर यही अवस्थाबाट माथी निस्किएर नेपालले पहिलोपटक महिला क्रिकेटमा विश्वकप खेल्यो।

विश्वकप जा खेल भनेर खेलेको होइन। छनोट चरण पार गरेर त्यहाँ पुगेको थियो। एसियाका एसोसिएट टोलीमा पहिलो भएर नेपालले विश्वकप यात्रा तय गरेको थियो। एसिया कपमा त पाकिस्तानलाई नै हराएको थियो। त्यसैले विश्वकप खेल्न गएको नेपाली टोलीमा धेरै चिज थियो जसले नेपाललाई त्यहाँसम्म पुर्याएको थियो र विश्वकपका लागि योग्य बनाएको थियो।
पहिलो चरणका तीन खेलमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग खेल्यो। बंगलादेशलाई सानो लक्ष्य दिएर पनि आच्छुआच्छु बनायो। स्कटल्यान्डसँग त जितको मौका नै खेर फाल्यो भनेपनि हुन्छ किनभने स्कटल्यान्डले अन्तिम विकेटका लागि १६ रनको साझेदारी गरेर नेपाललाई स्तब्ध बनाएको थियो।
अन्तिम खेलमा अस्ट्रेलियाजस्तो बलियो टोलीका माथिल्लोक्रमका ब्याटरहरुलाई नेपालले सस्तैमा आउट गरेको थियो। यत्ति भन्न सकिन्छ नेपालले आफुलाई विश्वस्तरको प्रतियोगिता खेल्न सक्ने टोलीका रुपमा विश्व क्रिकेटलाई देखायो। म्याच एक्सपोजर र एक्सपेरियन्स मात्र पर्याप्त नभएर हो नत्र युथ महिला विश्वकपमा नेपालले बलिया टोलीलाई पनि झड्का दिन सक्छ भन्ने सन्देश दिन सफल भएको छ।
पहिलोपटक विश्वकप खेल्दा यो स्तरमा प्रभाव छाड्न सक्नु चानचुने कुरा होइन। नेपाली किशोरीहरु भन्दैछन्- हामीलाई घरेलु क्रिकेट खेल्न वातावरण बनाउँ, भविस्यमा अवश्य सफलता दिलाउने छौँ।
अब यीनै खेलाडीहरु नेपाली महिला क्रिकेटका भविस्यहरु हुन्। हामीलाई थाहा छ नेपालले सिनियर महिला क्रिकेटमा अहिलेसम्म एउटा पनि उपाधि जित्न सकेको छैन।
नेपाल नै हो जसले सन् २००७ मा आयोजना भएको एसिसी महिला क्रिकेटमा फाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसपछि नेपालले लगातार तीनपटक एसिसी यू-१९ महिला क्रिकेटको उपाधि जितेको थियो। एसियाली एसोसिएट महिला क्रिकेटका सूरुवाती प्रतियोगिताहरुमा जुन छाप नेपालले छाडेको थियो त्यो विस्तारै कमजोर बन्दै गयो। त्यसको कारण थियो कमजोर घरेलु क्रिकेट संरचना। पर्याप्त सम्भावना भएर पनि महिला क्रिकेटलाई ध्यान नदिदा नेपाल पछाडि पर्दे गएकोमा कुनै दुईमत छैन।
तर यतिबेला नेपाली महिला क्रिकेट रिभाइभ भएको छनक आइरहेको छ। यो रिदमलाई समातेर नेपाल अगाडि बढ्न सके आगामी दिनमा चाँडै उपाधि खडेरी टर्नेमा ढुक्क हुन सकिन्छ।


