काठमाडौं। बुधबार अपरान्ह लखनउबाट मुम्बईतर्फ सयौँ यात्रु बोकेर पुष्पक एक्सप्रेस रेल गइरहेको थियो। ५ बजे तिरको समयमा अचानक रेलमा आगो लागेको हल्ला फैलिन्छ। यात्रुहरु अत्तालिन्छन्।
कसैले रेल रोक्न प्रयोग हुने आपतकालिन चेन तान्छ र रेल रोकिनेक्रममा हुन्छ। साधारण सिटमा बसिरहेका यात्रुहरु आत्तिँदै बाहिर निस्किएर सुरक्षित स्थानतर्फ जान खोज्छन्। अर्को लिकबाट आइरहेको ट्रेनले उनीहरुलाई ठक्कर दिन्छ।

महाराष्ट्रको जलगाउँ जिल्लामा पर्ने पाचोरा भन्ने ठाउँमा पुस्पक एक्सप्रेसका यात्रुहरुलाई कर्नाटका एक्सप्रेसले यसरी ठक्कर दिँदा कम्तिमा १३ जनाको मृत्यु भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। ज्यान गुमाउनेमा ४ जना नेपाली रहेका छन्। नेपालीमध्ये एक जना पुरुष, दुई जना महिला र एक जना बालक रहेका छन्।
ज्यान गुमाउने नेपालीमा ४३ वर्षीय कमला नविन भण्डारी, ६० वर्षीय जवकला भाटे, ४० वर्षीय लक्षिराम खातरु पासी र ११ वर्षीय इम्तियाज अली रहेका छन्। उनिहरु नेपाल कहाँका हुन् भन्नेबारे केही खुलेको छैन। कर्नाटका रेल बैंगलरुबाट दिल्लीतर्फ गइरहेको थियो। घटनास्थल मुम्बईबाट करिब ४ सय किलोमिटर दुरीमा पर्छ।
भारतीय रेल अधिकारीले भने पुष्पक एक्सप्रेसभित्र आगलागिको कुनै घटना नभएको र हल्लाकै भरमा मानिसहरु रेलबाट हाम फालेर दौडिएको बताएका छन्।
महाराष्ट्र सरकारले मृतकका परिवारलाई जनहीँ ५ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। यस्तै रेव वे बोर्डले पनि मृतकका परिवारलाई जनहीँ एक लाख ५० हजार दिने बताएको छ। भारतको केन्द्र सरकारले पनि मृतकका परिवारलाई जनहीँ २ लाख रुपैयाँ दिने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
रेलका यात्रुले यसरी दुर्घटनामा ज्यान गुमाउनु दुर्लभ घटना हो। यसअघि सन् पूर्वी भारतमा दुईवटा रेल ठोक्किँदा कम्तिमा २ सय ८० जनाको ज्यान गएको थियो।


