काठमाडौं। नेपाली क्रिकेटका ग्लोबल स्टार सन्दीप लामिछाने यतिबेला उपचार गराइरहेका छन्। हर्नियाको अप्रेसनपछि उनी स्वास्थ्य लाभ गदैछन्। उनको यो स्वास्थ्य समस्या लामै समयदेखि थियो भन्ने उपचारका समाचार विवरणहरुमा देख्न सकिन्छ। उनी भारी मन लिएर अस्पताल पुगेका थिए र उपाचारपछि पनि उनको मनको दुख निको नभएको अनुमान यतिबेला गर्न सकिन्छ। किनभने सन्दीप अस्पताल भर्ना हुनुअघि ठिक अगाडी नेपाल क्रिकेट संघबाट अनुशासन कारबाहीका परेका थिए। क्यानले अनुशासन उल्लंघन गरेको भन्दै सन्दीपलाई सजाय गर्ने निर्णय गरेको थियो।
। सन्दीपलाई एउटा घरेलु खेलमा प्रतिबन्ध लगाइएको छ। ३ डिमेरिट अंक पनि सजाय गरिएको छ। झट्ट हेर्दा सजाय सामान्य लाग्न सक्छ।
यसले के फरक पर्छ भन्ने तपाईलाई लाग्न पनि सक्ला। तर सजाय के गर्यो भन्दा पनि सजाय गर्ने निर्णयसम्म क्यान किन पुग्यो भन्ने महत्वपूर्ण हो ?
हालै भएको जय ट्रफी दौरान सिनियर अम्पायर विनयकुमार झासँग सन्दीपको विवाद भएको थियो।
त्यही विवादको विषयलाई लिएर उनले सामाजिक सन्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। अँ, त्यो असन्तुष्टी मात्र थिएन, अम्पायरको निर्णय क्षमतामा पनि प्रश्न गरिएको थियो र थुप्रै खेलाडी गलत निर्णयको शिकार भएको भन्दै चिन्ता गरिएको थियो। उनले घुमाउरो भाषामा क्यानलाई पनि प्रश्न सोधेका थिए- विगतमा उजुरी गर्दा पनि खोई कारबाही गरेको, खोई अम्पायरहरु सच्चिएको ?
सन्दीपले अम्पायरसँगको गुनासो प्रकृयागत बाटोबाट नराखेर सामाजिक सन्जालमा सार्वजनिक गरेको भन्दै उनलाई कारबाहि गरिएको छ। झट्ट हेर्दा सन्दीपमाथी गरिएको कारबाही ठिकै जस्तो लाग्छ। सन्दीपले आचारसंहिताभन्दा बाहिर गएर काम गरेका थिए भन्नेमा दुईमत छैन।
क्यानले सन्देश दिइरहेको छ- आचारसंहिता बाहिर जान कसैलाई पनि छुट छैन चाहे त्यो जति नै ठुलो खेलाडी होस्।
यो सन्देश पनि ठिकै लाग्छ। तपाईलाई पनि ठिकै लागेको हुनुपर्छ।
तर के सन्दीपले आफुमाथी यसरी कारबाही होला भन्ने सोचेका थिए होलान्। आफ्नो प्रोफाइल र फ्यान क्रेजका कारण क्यानले यसरी कारबाही गर्ला भनेर उनले सायदै सोचेका थिए।
कारबाही गर्ने तयारीसहित आफुलाई क्यानले स्पष्टीकरण सोधेपछि उनले सांकेतिक भाषामा सामाजिक सन्जालमा स्टाटस लेखेका थिए। जसले कतै उनले सन्याश लिने सोच पो बनाएकी भन्ने आशंका पनि भएको थियो। यस्तै आशयमा उनि मिडियाका हेडलाइन पनि बनें। समाचार सेलाउन नपाउँदै फलोअप बाहिरि आएको थियो-सन्दीपमाथी अनुशासन कारबाही भयो।
तपाईको चित्त नबुझ्न सक्छ– तरपनि, यति चर्चित खेलाडीमाथी क्यानको यत्रो आट !
त्यसमा पनि राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का अहिले क्यानको सचिव छन्। सचिव मात्र होइन, भनिन्छ सर्वैसर्वा। पछिल्ला घटनाक्रमहरु हेर्ने हो भने सन्दीपको राम्रोका लागि उनले सक्नेजति सबै प्रयाशहरु गरिरहेका थिए। तपाई हामीलाई थाहा नै छ( टी(२० विश्वकपमा सन्दीपलाई पठाउन उनले गर्नुपर्ने सबै पहलमा अगाडि सरेका थिए।
पारस नै हुन् खेलाडी छँदा क्यानविरुद्ध सार्वजनिकरुपमा बोलिरहन्थे। पारससहितका खेलाडीहरु क्यानले प्रतियोगिता आयोजना नगरेको, क्रिकेट विकाशमा ध्यान नदिएको गुनासो गरिरहन्थे। त्यतिबेला खेलाडीको आर्थिक अवस्था पनि कमजोर थियो। मानिसहरु भन्थे( खेलाडीले भनेको ठिक हो( क्यान नै गलत हो।
सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि त झन् नेपाली खेलाडीको हाई हाई नै बेग्लै भयो। त्यतिबेलासम्म क्यानमाथी खेलाडीहरु हावी थिए। क्यान आफै निलम्बनको अवस्थामा थियो। सन् २०१९ मा क्यानमा निर्वाचित समिती आयो र आईसिसीले पनि निलमबन फुकुवा ग¥यो। त्यसै वर्ष पारसले कप्तानी छाडे र ज्ञानेन्द्र मल्ल कप्तान बने। क्यानमा आउने योजनासहित पारसले सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिए। त्यसको केही समयमा क्यानले कप्तान ज्ञानेन्द मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहितका खेलाडीहरुमाथी अनुशासन कारबाही गर्यो । खेलाडी ग्रेडिङको विषयलाई लिएर मिडियासँग बोलेको विषयमा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाइयो। अस्ट्रेलियामा बिग बास खेलिरहेका सन्दीप लामिछाने नयाँ कप्तान घोषणा भए। कारबाहीमा परेका खेलाडीहरु पछि तितो मन लिएर राष्ट्रिय टोलीमा फर्किएका थिए।
सन्दीपमाथी पछि बलात्कार जस्तो गम्भिर अपराधको आरोप लाग्यो। उनी पुपक्षका लागि जेल पनि बसे। नेपाली क्रिकेट संकटमा देखिएको थियो। त्यही बेला सन्दीप धरौटीमा छुटे। व्यापक विरोधका विच उनलाई राष्ट्रिय टोलीमा समावेश गरियो। नेपालले विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगायो।
एसिसि प्रिमियर कप जितेर एसिया कप खेल्ने पक्का गर्यो। यी सफलताहरुम्ँँ सन्दीपको पनि भूमिका विशेष थियो। परिस्थीति नेपाली क्रिकेटले चाहेअनुसार मात्र अगाडि बढ्दै थिएन पारस पनि आफ्ना योजनाहरुमा सफल हुदै थिए। उनी जिल्ला, प्रदेश हुदै गत वर्ष क्यानको सचिवमा निर्वाचित भए। पारस क्यानमा आएपछि नेपाली क्रिकेटको मुहार फेरिएको छ। एनपीएलजस्ता विश्व चर्चित प्रतियोगिताहरु आयोजना भएका छन्, खेलाडीको मासिक तलब एक लाखसम्म पुगेको छ।
नेपाली टोलीले लगातार प्रतियोगिताहरु खेलिरहेको छ। खेलाडीहरु व्यस्त छन्। आर्थिक अवस्था पनि सुधार भएको छ। अब प्रश्न क्यानमाथी होइन खेलाडीमा तेर्सिदै छ। पारस खेलाडीलाई प्रश्न गर्ने ठाउ नदिएर क्यानलाई बलियो बनाउदै छन्। सन्दीपलाई कारबाही भएको हल्लाबीच पारसले त्यस विषयमा मिडियासंग बोलेको देखिन्छ जसमा उनी जतिसुकै ठुलो खेलाडी भएपनि सिस्टम मान्नुपर्ने नत्र एक्सन लिइने बताउदैछन्।
कुनै समय पारस र सन्दीपको सम्बन्ध सुमधुर थिएन ।

यो पारस पनि खेलाडी हुदाको कुरा हो। तर पारस क्यानमा आइसकेपछि त्यो कुनैपनि पुरानो तिक्तता देखाएका थिएनन्, देखिएको थिएन। सोही कारणपनि सन्दीपमाथी भएको कारबाहीलाई लिएर त्यति धेरै आलोचना भएन। किनभने यतिबेला क्यान बलियो छ। खेलाडीको हकमा क्यानले आफुलाई प्रश्न गर्ने ठाउ कम बनाउदै लग्दै छ।
यता सन्दीपको समय पनि खास राम्रो चलिरहेको देखिदैन। उनको व्यक्तिगत प्रदर्शन र टिम सफलता दुवै उनीबाट अपेक्षा गरे बमोजिम छैन। विदेशका व्यावशायीक लिगहरुले पनि ठ्याक्कै पत्याइरहेको स्थिती देखिदैन। यतिबेला सन्दीपले उठाएका प्रश्नहरु सहि थिए वा गलत त्यो आफ्नो ठाउमा होला। तर क्यानले अनुशासन कारबाही गरिरहदा सन्दीपले हिजोका दिनमा गरिएका गुनासाहरु किन सम्बोधन भएनन् भनेर गरेका प्रश्नहरुमा सोच्नुपर्ने अवश्य देखिन्छ। हुन पनि गलत निर्णय गर्ने रेफ्रीलाई कारबाही भएका विषयहरु कहिल्यै बाहिर आउदैनन्।


