काठमाडौं। रसुवा हुँदै चीन जाने तयारीमा रहेको एक ट्रकभित्रबाट करिब २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ टोखाबाट ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशीका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा रहेका छन्। उनी बरामद भएको ट्रकका चालक र मालिक दुवै हुन्। तर उनी उक्त रकमको भरिया मात्र भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार कुसाङ यसअघि चीनबाट ७ केजी सुन लिएर आउनेक्रममा पक्राउ परेका थिए। उक्त घटनामा ५ वर्ष जेल बसेर उनी २०७८ सालमा छुटेको पाइएको छ। जेलबाट छुटेपछि पनि उनी चीनबाट काठमाडौं सामान लिएर आउने गरेका थिए। सामान लिएर आउने बहानामा उनी सुनको तस्करीमा संलग्न भएको हुन सक्ने प्रहरीको आशंका छ। ‘नेपालबाट पैसा लिएर जाने र उताबाट सुन लिएर आउने जस्तो देखिन्छ। तर उनी भरिया मात्र हुन्। पैसा कस्को हो भन्ने खुलेको छैन’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रमेश बस्नेतले भने।
प्रहरीले ट्रकबाट करिब १३ लाख युरो र ३ लाख अमेरिकी डलर गरी २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ।


