काठमाडौं । पर्साको विरगन्जमा एक वडाध्यक्षमाथी सांघातिक आक्रमण भएको छ। विरगन्ज महानगरपालिका–१५ वडाध्यक्ष आशुतोष चतुरवेदीले आफुमाथी फागु पुर्णिमाको साझ फागुन २९ गते वडाध्यक्ष,पत्रकार, प्रहरीसहितको टोलीले आक्रमण गरेको बताएका छन्। घटनास्थलको सिसिटिभी फुटेज पनि बाहिर आएको छ।
स्थानीय एक पार्टी प्यालेसमा बर्थ डे मनाउन पुगेको बेला आफुलाई पत्रकार भुषण यादब, नेपाल प्रहरीका वरिष्ठ सई सागर सम्सेर राणा, विरगन्ज महानगरपालिका–१० वडाध्यक्ष सुशिल शाह कानु, प्रहरी जवान दीपेश क्षेत्रीसहितको समूहले अन्धाधुन्ध आक्रमण गरेको चतुरवेदीले बताए।
‘पार्टि मनाइरहेका बेला एउटा हुल अचानक आएर आक्रमणमा उत्रियो’, उनले भने।

सख्त घाइते भएका वडाध्यक्ष चतुरवेदीलाई तत्कालै अस्पताल लगिएको थियो। आफुविरुद्ध आक्रमण गर्नेविरुद्ध कारबाहीका लागि उजुरी गरेपनि पर्सा प्रहरीले दर्ता गर्न नमानेको चतुरवेदीले गुनासो गरे। ‘हालसम्म जाहेरी दर्ता गरिएको छैन’, उनले भने।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता दिनेश आचार्यले घटनाबारे गम्भिरतापूर्वक अनुसन्धान गरि कारबाही अगाडि बढाउन पर्सा प्रहरी प्रमुखलाई निर्देशन दिइएको बताए। ‘धेरै कुरा भनिरहन परेन,मिडियामै आइसकेको छ’, उनले भने।
मधेश प्रदेश प्रहरी प्रमुख लालमणी आचार्यले पनि कारबाहीका लागि निर्देशन दिइएको र दोषी देखिए प्रहरी पनि कारबाहीको दायरामा आउने बताए। पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जाहेरी लिएर अनुसन्धान भइरहेको बताए। ‘हामीले जाहेरी लिइसकेको छौ। अनुसन्धान भइरहेको छ’, उनले भने।
घटनामा मुछिएका वरिष्ठ सई राणा लामो समय मधेश प्रदेशमा सादा पोसाकमा खटिएका प्रहरी हुन्। पछिल्लो समय उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। पर्सा घर भएका राणा फागु पूर्णिमा मनाउन जिल्ला पुगेको बताइएको छ।
उनीसँग घटनाबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन। उनले सिधाकुरा डटकमसँग कुरा गर्दै आफुबाट गल्ती भएको स्विकार गरेका छन्। त्यसदिन अत्यधिक मदिरा सेवन गरेका कारण घटना हुन गएको सिधा कुरालाई बताएका छन्। चतुरवेदीले जाहेरी दर्ता नहुँदा आफुले न्याय पाउनेमा शंका व्यक्त गरे। ‘सिसिटिभी फुटेजमा प्रष्ट देखिँदा पनि मैले न्याय पाउन गाह्रो भयो’, उनले भने।


